+

औषधि खाएर फिस्टुला निको हुँदैन, अपरेसन नै गर्नुपर्छ 

२०७९ माघ  २२ गते १५:०३ २०७९ माघ २२ गते १५:०३
औषधि खाएर फिस्टुला निको हुँदैन, अपरेसन नै गर्नुपर्छ 

शरीरको बाहिरी सतहमा निस्किने अनावश्यक नलीलाई फिस्टुला भनेर बुझिन्छ । फिस्टुला प्रायः आन्द्रा, छालाको सतह र मलाशय वरपर देखिन्छ । पछिल्लो समय फिस्टुलाका बिरामी बढेका छन् । यसको मुख्य कारण अस्वस्थकर खानपान नै हो ।

फिस्टुलालाई सामान्य ठानेर बस्ने र परीक्षण नै नगराई जथाभावी औषधि खाने प्रवृत्ति समेत बढेको छ, जुन गलत हो । फिस्टुला औषधि खाएर निको हुँदैन, यसको विकल्प शल्यक्रिया मात्रै हो ।

फिस्टुला विभिन्न प्रकारका हुन्छन् । मलद्वारमा लो लाइन, हाई लाइन, साधारण र जटिल फिस्टुला देखिन्छ । लो लाइनमा मलद्वारमा डेनटेन्ट लाइनभन्दा तल अनावश्यक नली देखिएको छ भने लो लाइन फिस्टुला भनिन्छ । त्यस्तै डेन्टटेन्टभन्दा माथि निस्किएकोलाई हाई लाइन भनिन्छ ।

आन्द्राबाट मलद्वारको मुख्य नलीमा एउटा नली मात्र निस्किएकोलाई साधारण र दुई वा सो भन्दा बढी नली निस्किएर हाँगाबिंगा पनि छ भने त्यसलाई जटिल फिस्टुला भनिन्छ । फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, आन्द्राको क्यान्सर आमाशय ग्रन्थिमा निस्किने फिस्टुला पोस्ट सर्जिकल फिस्टुला हुन् ।

फिस्टुलाको कारण

आन्द्रा र मलद्वारसँग सम्बन्धित रोगको खानपानसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । खानपान नमिल्दा कब्जियत हुन्छ । कब्जियत पनि फिस्टुला गराउने कारणमध्ये एक हो । घरको खानेकुरा कम खाने, अस्वस्थकर खाना खाने, रेस्टुरेन्टको बढी खानेकुरा खाँदा कब्जियत हुन्छ । कब्जियतको समस्या बढ्दै गएपछि मलद्वारसम्बन्धी रोग बढ्छ, जसले फिस्टुला र फिसरजस्ता समस्या निम्तिने गर्छ ।

त्यस्तै मलद्वारको वरपर हुने ग्रन्थिले छालालाई नरम पारेर दिसालाई बाहिर निकाल्ने ग्रन्थिमा संक्रमण भयो भने फिस्टुला हुने सम्भावना हुन्छ । आन्द्राको  संक्रमण जटिल हुँदा समेत उपचार भएको छैन भने फिस्टुला हुन सक्छ । यसैगरी आकस्मिक दुर्घटना हुँदा शरीरमा गरिने शल्यक्रियापछि फिस्टुला निस्किन सक्छ ।

विभिन्न रोगका कारण फिस्टुला हुन्छन् भने कतिपय बिरामीको उपचारको निम्ति कृत्रिम फिस्टुला बनाउन पनि आवश्यक हुन्छ । जस्तै, मिर्गौला फेल भएका बिरामीमा डायलाइसिस गर्न फिस्टुला बनाउन पनि जरुरी हुन्छ ।

लक्षण

मलद्वारनजिक सानो गिर्खा देखिन्छ, जुन पाक्ने, केही समय ठीक हुने र पुनः बल्झिन्छ । पाकेपछि फुटेर पिप, रगत बग्ने र पानी आउने गर्छ । त्यस्तै, मलद्वार वरपर दुख्ने, सुन्निने, दिसा गर्न असहज, मलाशय रक्तस्राव आदि यसका लक्षण हुन् ।

पहिचान र उपचार

फिस्टुलाको लक्षण देखिएपछि सर्जनलाई तुरुन्त देखाउनुपर्छ । लक्षणअनुसार कुन अवस्थाको फिस्टुला छ त्यही अनुसारको उपचार हुन्छ । यसको पहिचान फिस्टुलोग्रामबाट हुन्छ । यो एकप्रकारको एक्सरे हो, जसबाट कहाँसम्म फिस्टुला फैलिएको छ भन्ने थाहा पाउन सकिन्छ । जटिल फिस्टुलालाई एमआरआई गरेर हेरिन्छ । जसअनुसार कुन प्रकारको शल्यक्रिया गर्नुपर्छ भनेर निक्र्योल गर्न सकिन्छ ।

शल्यक्रिया गर्दा पनि यो पुनः बल्झिने सम्भावना हुन्छ । यो सबै जीवनशैली र अन्य रोगको प्रकृतिअनुसार बल्झिने सम्भावना अनुमान गर्न सकिन्छ । यदि अन्य रोग नभएको खण्डमा  खानपानमा ध्यान दियो भने बल्झिने सम्भावना कम हुन्छ ।

औषधिले फिस्टुला ठीक नहुने भएकाले शल्यक्रिया नै यसको उपचार हो । आधुनिक लेजर प्रविधिबाट वा शल्यक्रियाबाट सम्भव छ । तर पायल्स र कब्जियत भन्दै जथाभावी औषधि खाँदा सामान्य फिस्टुला पनि जटिल बन्दै जाने र जति ढिला उपचार त्यति नै जटिलता बढ्ने गर्छ ।

कसरी बच्ने ?

फिस्टुलाबाट बच्ने पहिलो उपाय भनेको कब्जियत हुन नदिने हो । कब्जियत हुन नदिन प्रशस्त तरल पदार्थ र उच्च फाइबरयुक्त खानेकुरा खानुपर्छ । मैदाजन्य खानेकुरा, जंक फुड, बोइलर कुखुराको मासु कम खानुपर्छ । मदिरा र क्याफिन सेवन नगर्ने, दिसालाई नरोक्ने र नियमित गर्ने, पाचनप्रणालीलाई स्वस्थ तन्दुरुस्त राख्न दैनिक व्यायाम, मलद्वारको सरसफाइमा ध्यान दिन सकियो भने फिस्टुलाबाट जोगिन सकिन्छ ।

(जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. शाह सिनामंगलको होप अस्पतालमा कार्यरत छन् । उनले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एबीबीएस र किङ एडवार्ड मेडिकल युनिभर्सिटी, मायो अस्पतालबाट जनरल एण्ड ल्याप्रोस्कोपिक सर्जरीमा एमएस गरेका छन् । डा. शाहसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

फिस्टुला स्वास्थ्य
लेखक
डा. प्रभाकर शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?