+
+

राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्न लागेको भन्दै सीके राउतको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १६:२९

२२ माघ, काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्लामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘किसानले मलखाद पाइरहेका छैनन्, कालाबजारीलाई प्रहरी प्रशासन र नेपाल सरकारले नियन्त्रण गर्नुपर्छ, यो भन्दा अघि राष्ट्रिय पशुपक्षी अनुसन्धान केन्द्र सप्तरीमा राखिएको थियो, अहिले सुन्दैछु, कृषिमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रतिर अरु जिल्लामा सार्ने प्रयत्न गर्दै हुनुहन्छ, यस्तो प्रवृत्ति दोहोरियो भने विकास हुन सक्दैन ।’

उनले मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिंदा विकास निर्माणले गति नलिने बताए । उनले सरकार संसदप्रति उत्तरदायी छ कि छैन भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘सरकारले मल ल्याउँदा पनि कालोबजारीका कारण किसानले समयमै मल नपाइरहेको भन्दै सरकारले कालोबजारीमा नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘यहाँ कुनै कुरा बोल्दा अर्थ राख्छ कि राख्दैन, हामी सुन्छौं कि भित्तालाई खालि सुनाइरहेका छौं । कुर्सीलाई सुनाइरहेका छौं । सरकार यो संसदप्रति उत्तरदायी छ, जिम्मेवार छ यो कुरामा सभामुखबाट आश्वस्त हुन चाहन्छु, काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ जस्तो भयो ।’

उनले संसदमा सांसदहरुले उठाएका कुराहरु टिपेर त्यसबारेमा के कति कामहरु भइरहेका छन् भन्नेबारेमा सरकारले संयन्त्र निर्माण गरेर जानकारी नगराउने हो भने सांसदहरुले संसदमा बोलिरहनुको अर्थ नरहेको बताए ।

उनले भने, ‘आज पनि मलखादको विषय आधा दर्जन माननीयले उठाउनुभयो । हामी पटकपटक उठाउँदै आएका छौं तर सरकारले यस विषयमा के कति कदम चाल्यो त्यो संसदमा आउनुपर्छ, नत्र राम्रो भाषण गर्नुभयो भन्नेमा मात्रै सीमित हुन्छ, संसदमा उठेका कुराहरु टिपेर त्यसबारेमा जानकारी गराउने संयन्त्र नै खडा होस् । आगामी बैठक शुरु गर्नुअघि त्यो विषयमा कति कारबाही भयो ? त्यसबारेमा जानकारी होस् । सांसद राउतले नागरिकता प्रदान गर्ने प्रतिबद्धतामा सरकार कुन चरणमा छ भन्दै प्रश्न गर्नुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?