
२२ माघ, पोखरा । पोखरा महानगरपालिकाले सोमबारदेखि बन्द गर्ने भनेको सडक पार्किङ स्थगित भएको छ । गत सोमबार बसेको महानगरपालिकाको यातायात व्यवस्थापन समिति बैठकले पोखराको मुख्य बजार क्षेत्रमा सडक पार्किङ बन्द गर्ने निर्णय गरेको थियो ।
तर, विकल्प नदिएर हचुवाको तालमा सडक पार्किङ बन्द गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि लागू नहुँदै महानगर पछाडि हटेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले अर्को सूचना नआइञ्जेलका लागि सडक पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए ।
महानगरको निर्णयविरुद्ध आइतबार पोखरा उद्योग वाणिज्य संघले प्रमुख प्रशासकीय अधिकृत भारतीलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत भारतीले अर्को सूचना नआउञ्जेललाई पहिलेको सूचना स्थगित गर्ने निर्णय आइतबार नै भएको जानकारी दिए । ‘अब सरोकारवाला निकाय सबैसँग छलफल गरेरमात्रै अर्को निर्णय लिन्छौं’ उनले भने ।
भारतीले केही दिनमा पुनः बैठक बस्ने र सरोकारवाला निकाय सबैसँग बसेर निर्णय गर्ने जानकारी दिए । ‘सम्भवतः ३, ४ दिनमै बैठक बसेर सबैलाई पायक पर्ने विकल्प दिई कुनै पनि व्यवसायीलाई मर्का नपर्ने गरी निर्णय लिन्छौं’, उनले भने ।
महानगरले गत सोमबार एक सूचना जारी गरी पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक खण्डका सडकमा २३ गतेदेखि पार्किङ नगर्न आग्रह गरेको थियो ।
सूचनामा तोकिएका सडकखण्डमा अत्याधिक सवारी चाप हुँदा आवागमनमा समस्या भएको र सहरी सौन्दर्यमा समेत असर गरेको उल्लेख थियो ।
प्रतिक्रिया 4