
२२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा उम्मेदवार खडा गरेको नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिएन । विपक्षी दलहरुबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुने भएकी छन् ।
राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार उठाउने विषयमा छलफल गर्न शुक्रबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा पक्ष र विपक्ष दुवैखाले मत आएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायतले उम्मेदवारी दिन नहुने बताए भने महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखकलगायतले उम्मेदवारी दिनुपर्ने मत राखेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्ने भन्दै नेताहरु उठे ।
शनिबार कांग्रेस नेताहरुले एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले उम्मेदवारी दिन नहुने तर्क गरेका थिए । राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिँदा एमाले र माओवादीबीच दूरी बढ्ने उनको तर्क थियो, जसमा कांग्रेस नेताहरु पनि सहमत भए । अर्को, अर्यालप्रति नेपालको सद्भाव पनि थियो । एमालेमा रहँदा आफ्नो समूहमा रहेकी र ओलीका कारण अवसरबाट बञ्चित भएको उनको तर्क थियो ।
एकीकृत समाजवादी नेपालसँग सहमत देउवाले आइतबार बिहान बसेको पार्टीको बैठक राखेर उम्मेदवारी नदिने निर्णय गराए । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘हामीले उम्मेदवारी दिंदा एमाले र माओवादी केन्द्र एकतावद्ध हुनुपर्छ । बरु नदिँदा दूरी बढ्छ भन्ने बुझाइका आधारमा उम्मेदवारी दिएनौं ।’
राष्ट्रिय सभामा कांग्रेसका १० जना सदस्य छन् भने एकीकृत समाजवादीका ८ जना छन् । कांग्रेस र एकीकृत समाजवादीको समेत समर्थन पाएपछि अर्यालले राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्माबाहेक सबैको मत पाउने देखिन्छ ।
कांग्रेसले माओवादी केन्द्रलाई नजिक राख्ने प्रयत्न प्रधानमन्त्रीको विश्वासको मत दिएदेखि नै सुरु गरेको हो । १० पुसको विहानसम्म दुबै दल एउटै गठबन्धनमा थिए । को पहिला प्रधानमन्त्री भन्नेमा देउवासँग सहमति नजुटेपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री भएका थिए ।
सुरुमा ‘स्तब्ध’ भएको कांग्रेसले विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री प्रचण्डसँग नजिक हुन थाल्यो र २६ पुसमा विश्वासको मत दियो । सत्ता साझेदार दलहरुको भागवण्डाअनुसार एमालेले उम्मेदवार उठाएको सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको उपसभामुख पदमा भने कांग्रेसले उम्मेदवार खडा गरेको थियो ।
२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ढोक्सा’ थापेको बताएका थिए । आइतबार संसदमा त्यसलाई दोहोर्याएका ओलीले बुढो बाघको कथा सुनाउँदै कांग्रेसलाई भने, ‘ट्राइ योर बेस्ट । सरकारमा रहेका दलहरुले आफ्नो र देशबारे बुझेका छन् र सुनको बाला टिप्न जाने कोही छैन ।’
तर आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ भने एमाले र माओवादीबीच अविश्वास बढ्दो छ । राष्ट्रपति निर्वाचन (२५ फागुन) सम्म पुग्दा राजनीतिले नयाँ मोड लिनेमा कांग्रेस नेताहरु निकै आशावादी छन् । कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला आकांक्षी छन् ।
हालै देउवालाई भेटेका एक केन्द्रीय सदस्यका अनुसार उनको सम्पूर्ण ध्यान आसन्न राष्ट्रपति निर्वाचन केन्द्रित छ । एमालेबाट राष्ट्रपति बनाउन नहुनेमा माओवादी नेताहरु एकमत हुँदा कांग्रेस उत्साहित छ । ‘यो गठबन्धन धेरै नजाने हामीले सरकार बन्ने बेलैमा भनेका थियौं’, कांग्रेस केन्द्रीय सदस्य एनपी साउद भन्छन्, ‘माओवादीबाट प्रधानमन्त्री, एमालेको सभामुख बनिसक्नुभएको छ । कांग्रेसबाट राष्ट्रपति हुँदा राष्ट्रिय सहमतिको बाटोमा देश जान्छ ।’
तर एमाले हुँदासम्म कांग्रेस सत्तामा नजाने उपसभापति पूर्णबहादुर खड्का बताउँछन् । उनले भने, ‘एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुन सम्भव छैन । कांग्रेस सहभागी हुँदैन ।’ साथै आधा कार्यकाल सरकारको नेतृत्व पाउनुपर्ने पनि कांग्रेस नेताहरु बताउँछन् ।
‘पहिलो प्रधानमन्त्री को हुने विवादले गठबन्धन भंग भएको हो । प्रचण्ड पहिलो कार्यकाल प्रधानमन्त्री हुने अवस्था बनिसकेको छ’ कांग्रेसको शीर्ष तहका नेता भन्छन्, ‘आधा कार्यकाल कांग्रेस प्रधानमन्त्री हुँदा कोर्स करेक्सन पनि हुन्छ ।’
प्रतिक्रिया 4