
२३ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो गृहपालिकामा एकैदिन ४ वटा योजना उद्घाटन गरेका छन् । सोमबार उनले करिब १ अर्ब रुपैयाँ भन्दा बढी बजेटका विभिन्न योजना उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले रुपा रिङरोडको पहिलो खण्ड उद्घाटन गरे । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले निर्माण गरेको उक्त सडक ४१ करोड रुपैयाँ लागतमा बनेको हो । उक्त सडकले फैचोकदेखि पोल्याङसम्म जोड्ने काम गर्छ ।
सोमबार नै मुख्यमन्त्री अधिकारीले सडक विभागले बनाएको कास्की र लमजुङ जोड्ने मोटरेबल पुलको पनि उद्घाटन गरे । रुपा गाउँपालिकाका वडा नं. ३ र लमजुङको मध्यनेपाल जोड्ने गरी बनेको १६५ मिटरको मोटरेबल पुल उद्घाटन गरेका हुन् । उक्त पुल १२ करोड १३ लाखमा बनेको थियो ।
रुपाकै वडा नं. ५ र पोखरा ३२ जोड्ने गरी बनेको २ करोड ५७ लाख पुलसमेत मुख्यमन्त्रीले सोमबार नै उद्घाटन गगरेका छन् ।
त्यस्तै, २२ लाख रुपैयाँमा बनेको जनता माविको ८ कोठे भवन पनि उनले उद्घाटन गरे ।
उद्घाटनपश्चात मुख्यमन्त्री अधिकारीले पूर्वाधारमात्रै नभई त्यसलाई विकाससँगग जोड्नुपर्ने बताए । ‘विकासका योजना पाएरमात्रै हुँदैन । यसको सहि संरक्षण गरेर उत्पादनमूलक काममा जोड्न आवश्यक छ,’ उनले भने ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँमा भौतिक विकास हुँदा पालिकाबासीलाई सहज हुने विश्वास व्यक्त गरे । ‘हामीले पाएका विकासको संरक्षणसहित उत्पादन र आयमूलक काममा जोड्न हामी प्रतिवद्ध छौं,’ उनले भने ।
प्रतिक्रिया 4