+
+

सडक बत्ती जोड्न महानगर र प्राधिकरणबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १२:०६

२४ माघ , काठमाडौं । काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।

यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागका बीच भएको सहमतिका आधारमा भएको सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन् ।

१२ करोड लागत
बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको काठमाडौं महानगरले जनाएको छ ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसैगरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैंले पुनप्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडक बत्ती प्रयोग भएवापत्को शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?