
२४ माघ, काठमाडौं । मंगलबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा छलफलका क्रममा ‘जनता’लाई के भन्ने विषयमा गम्भीर छलफल भयो । छलफलको विषय थियो– संविधान संशोधन विधेयकको कार्यविधि । अर्थात्, प्रतिनिधिसभामा आउने संविधान संशोधनको प्रस्तावमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रियाको विषय ।
यही प्रक्रियामा संविधान संशोधन सम्बन्धी प्रस्ताव सर्वसाधारण जनताको जानकारीका लागि प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘संविधानको धारा २७४ बमोजिम प्राप्त संविधान संशोधन विधेयक सभामा प्रस्तुत भएको तीस दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवले सर्वसाधारण जनताको जानकारीको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नेछ’ प्रतिनिधिसभा नियमावली २०७५ को नियमावलीको नियम १३७ को (१) मा छ ।
यस प्रावधानमा रहेको ‘सर्वसाधारण’ भन्ने शब्दमा सांसदहरुले जमेरै छलफल गरेका हुन् । सबैभन्दा पहिले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले ‘सर्वसाधारण’ शब्दको सट्टा ‘आम नागरिक’ लेख्नुपर्ने प्रस्ताव राखे ।
लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘सर्वसाधारण’ भनेको होच्याएर साधारण भन्न नखोजिएको बताए ।
लेखकको भनाइमा समर्थन जनाउँदै कांग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले सर्वसाधारण शब्द प्रचलनमा रहेको सुनाए । साथसाथै, सर्वसाधारण ‘डेमेक्रेटिक’ शब्द रहेको बताए ।
नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वसाधारण शब्द प्रचलनमा रहेको रहेको बताए । उनले अन्य कानुनहरुमा समेत सर्वसाधारण भन्ने शब्द रहेको उल्लेख गरे ।
त्यसपछि माओवादी सांसद बस्नेत अझ गम्भीर भए । उनले सुवास नेम्वाङलाई जवाफ फर्काए, ‘अन्य कानुन अन्यको क्षेत्राधिकार हो । यो (प्रतिनिधिसभा नियमावली) हाम्रो क्षेत्राधिकार हो । हामी निर्णय गर्न सक्छौं नि ।’
बस्नेतले सर्वसाधारण शब्द प्रचलनमा रहेको भनी तर्क गर्ने कांग्रेस सांसद लेखक र बडूलाई पनि जवाफ फर्काए, ‘प्रचलनमा थियो भन्ने हुन्छ र । हिजो अधिराज्य थियो । अधिराज्यबाट यहाँ आइएको छ ।’ सांसद बस्नेत अझै रोकिएनन्, ‘अहिले हामी कोट पाइन्ट लगाउँछौं किन त ? प्रचलनमा थिएन पहिले ।’ कोही सांसद बोले प्रचण्लमा रहेको दौरा सुरुवाल कमरेडहरुले पनि लगाउन थालेका छन् ।
बस्नेतले सर्वसाधारणको सट्टा आम नागरिक लेख्नुपर्ने भनी अडान लिएपछि उनलाई एमाले सांसद लिलानाथ श्रेष्ठले पनि आम नागरिक लेख्नु उपयुक्त हुने राय राखे । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पनि आम नागरिक नै लेख्नु उपयुक्त हुने सुझाए ।
सांसदहरु जनतालाई सर्वसाधारण भन्ने कि आम नागरिक भन्नेमा विभाजित भए । अझ सर्वसाधारणलाई कांग्रेसको शब्द र आम नागरिकलाई कम्युनिस्टको शब्द जस्तो गरी प्रस्तुत हुन थाले । यस्तोमा एमालेका नेम्वाङ भने सर्वसाधारण नै ठीक हुने पक्षमा थिए । तर, विवाद बढ्दै गएपछि उनै नेम्वाङले प्रस्ताव गरे, ‘आम नागरिक तथा सर्वसाधारण लेखिदिऔं ।’
आम नागरिक तथा सर्वसाधारण लेख्ने नेम्वाङको प्रस्ताव भने उनै माओवादी सांसद बस्नेतले अस्वीकार गरे । जे लेखे पनि हुन्छ, खाली प्रचलन भनेर पुरानै कुरा हुनुपर्छ भन्ने कुरामा अडान लिनु राम्रो होइन भन्न मात्रै खोजेको हो । सर्वसाधारण नै लेखेर पनि के फरक पर्छ र, त्यही लेखे हुन्छ ।’
संसद सचिवलायका अधिकारीहरुले पनि सर्वसाधारण शब्द नै उपयुक्त हुन सक्ने सुझाए । त्यसपछि सोही अनुसार ‘संविधान संशोधन प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नेछ’ भनेर लेख्नेमै समिति निर्णयमा पुग्यो ।
प्रतिक्रिया 4