+
+

फागुनदेखि तीन अस्पतालमा ‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १२:५९

२५ माघ, काठमाडौं । सरकारले देशका तीन ठूला अस्पतालमा ‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा फागुनदेखि ‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु गर्न लागेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा पनि यो विषय उल्लेख छ । न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा भनिएको छ, ‘एक चिकित्सक र स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा फागुनदेखि कार्यक्रम सञ्चालनमा आउने छ ।’

सरकारले यसअघि आर्थिक वर्ष २०७७/७८ मा पनि ‘एक चिकित्सक एक स्वास्थ्यसंस्था’ कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्युठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल र पाँचथर अस्पतालमा लागू गर्न मन्त्रालयले परिपत्र गरेको थियो ।

तर स्वास्थ्य मन्त्रालयले सो कार्यक्रम लागू गर्न अस्पतालहरुमा पत्राचार गरेसँगै स्वास्थ्य क्षेत्रका विभिन्न संघ संगठन, चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध जनाएका थिए । उनीहरुले यो कार्यविधि परिमार्जन नगरी लागु गर्न नहुने बताएका थिए । यो कार्यक्रम लागू भएको अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अरु अस्पतालमा काम गर्न पाउने छैनन् ।

जनस्वास्थ्य विज्ञका अनुसार ‘एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम सरकारी अस्पतालको सुधारको सुनौलो मौका हो । यो कार्यक्रम लागू भएमा सरकारी अस्पतालमा नागरिकले गुणस्तरीय सेवा पाउने मन्त्रालयका पुर्वविशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउँछन् ।

‘अहिले सरकारी अस्पतालमा उपचार गर्न पालो नपाएर निजीमा जानुपर्ने बाध्यता छ । एक चिकित्सकले पूरा समय सरकारी संस्थामा दिने हो भने नागरिकले स्वास्थ्य सेवा समयमै र गुणस्तरीय रुपमा पाउँछन्,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?