+

गर्भावस्थाको नवौं महिना के गर्ने, के नगर्ने ?

२०७९ माघ  २५ गते १३:०३ २०७९ माघ २५ गते १३:०३
गर्भावस्थाको नवौं महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थामा शरीरको आकार बढ्दा महिलालाई धेरै कुरामा असहज हुन्छ । गर्भावस्थाको पनि पूर्ण अवधि नवौं महिनामा अझ धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस अवधिमा कुनै बेला प्रसव पीडा हुन सक्छ । जसका लागि शारीरिक र मानसिक दुवै तवरले आफूलाई तयार राख्नुपर्छ ।

नवौं महिनमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा नियमित स्वास्थ्य जाँच हो । बच्चा कति चलेको छ र कति पटक चलेको छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । बच्चा दिनमा कम्तीमा पनि १० देखि १५ पटक राम्ररी चलेको हुनुपर्छ ।

नवौं महिनामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्यो, नाइटोमाथि दुख्यो, आँखा धमिलो भयो, खुट्टा अस्वाभाविक रूपमा सुन्नियो भने पनि अस्पताल जानुपर्छ । डाबर र फोका नआई हातखुट्टा चिलाउँछ भने पनि सचेत हुनुपर्छ । विशेषगरी हत्केला र पैताला धेरै चिलाउने भयो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

जन्डिस, तल्लो पेट असाध्यै दुख्ने, पिसाब पोल्ने, रगत तथा सेतो पानी बग्नेजस्ता समस्या देखिए अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भावस्थाको नवौं महिनामा के खाने ?

गर्भावस्थामा यो खान हुँदैन, त्यो खान हुँदैन भनेको हामी सुन्छौ । विशेषगरी मेवा, मह खानै हुन्न पनि भनेको सुनिन्छ । यो कुराको कुनै वैज्ञानिक आधार छैन । त्यसैले यो भ्रमलाई हटाउनुपर्छ ।

गर्भावस्थामा कब्जियत हुन्छ । त्यसैले शरीरलाई हाइड्रेट राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै फाइबरयुक्त हरियो सागसब्जी, फलफूल, अन्न र गेडागुडी खानुपर्छ । पालुङ्गोको साग, स्याउ, ब्रोकाउली, मासुलगायत आइरनयुक्त खाना पनि खानुपर्छ ।

गर्भावस्थामा क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । यसका लागि दुग्धजन्य पदार्थ र दही आदिको सेवन गर्न सकिन्छ । शरीरमा आइरन अवशोषित गर्न कागती, सुन्तला र टमाटरजस्ता भिटामिन सीयुक्त खाना पनि खानुपर्छ ।

के नखाने ?

गर्भावस्थाको नवौं महिनामा कफी, चिया र चकलेटजस्ता क्याफिनयुक्त चीज खानु हुँदैन । गर्भावस्थामा मदिरापान वा धूम्रपान एकदमै नराम्रो हो । यसले गर्भको शिशुमा प्रत्यक्ष हानि गर्छ । जंकफुड, बाहिरको खाना पनि नखानु नै उचित हुन्छ ।

अपनाउनुपर्ने सावधानी

नवौं महिना लागेपछि कुनै पनि समयमा प्रसव पीडा हुन सक्छ । त्यसैले त्यसको लागि तयार रहनुपर्छ । कुन अस्पताल जाने भनेर योजना बनाउनुपर्छ । खर्च पनि जुटाइरहनुपर्छ । गर्भावस्थामा रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले सम्पूर्ण स्वास्थ्यमा ध्यान दिनुपर्छ । भीडभाडमा जाने वा सरसफाइमा ख्याल नगर्ने जस्ता गल्ती गर्नै हुँदैन ।

गर्भवती महिला स्वस्थ र सुखी रहिन् भने बच्चालाई पनि धेरै प्रकारका मानसिक तथा शारीरिक रोगबाट बचाउन सकिन्छ । नवौं महिनामा तनाव लिइयो भने डेलिभरीको समयमा समेत जटिलता हुन सक्छ । त्यसैले सकारात्मक रहनुपर्छ ।

यो अविधमा लामो यात्रा पनि गर्नुहुँदैन । गर्भावस्थाको नवौं महिनामा यात्रा गर्दा रगत जाने समस्या हुन सक्ने भएकाले सकेसम्म लामो यात्रामा निस्किनु हुँदैन । यसैगरी आफ्नो पेटमा बल पर्ने गरी धेरै झुक्नु हुँदैन र भारी चीजहरू उठाउनु हुँदैन ।

(डा. सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत् छन् ।)

गर्भावस्था डा. कीर्तिपाल सुवेदी
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?