
२५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताएका छन् ।
ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनले बताए ।
पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए । ‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै जेथा मिटरब्याजीले लिएर सडकमा पु¥याइदिइरहेका छन्’ उनले भने ।
शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताए । क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरे ।
युवापुस्तामा रहेको निराशा गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि देखिएको उनले बताए । ‘यो चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए, जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे’ उनले भने, ‘चुनावमा नयाँ दल उदाउनु सकारात्मक कुरा हो ।’
प्रतिक्रिया 4