
२५ माघ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा रुपन्देहीका दधिराम न्यौपानेलाई नियुक्त गरेका छन् ।
मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम गिरीले सचिवालय विस्तार गरेका हुन् ।
अघिल्लो प्रदेश सभा सदस्य चुनावमा निर्वाचित न्यौपाने तत्कालीन नेकपामा विवाद हुँंदा माओवादी केन्द्र छाडेर एमाले रोजेका थिए । गत मंसिरको प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही १ (२) मा उनी कांग्रेसका अब्दुल रज्जाकसँग पराजित भएका थिए । प्रमुख राजनीतिक सल्लाहकारले राजयमन्त्री सरह सेवा सुविधा पाउँछन् ।
यस्तै मुख्यमन्त्री गिरीले बाँकेका गोपाल गिरीलाई आफ्नो सचिवालयको जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका छन् ।
संसदीय दल नेताको हैसियतमा मुख्यमन्त्री गिरीले रुपन्देहीका तुल्सीप्रसाद चौधरीलाई प्रमुख सचेतक र रेखाकुमारी शर्मालाई सचेतक नियुक्त गरेका छन् ।
यसअघि मुख्यमन्त्री लीला गिरीले प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका थिए । गिरीले बुटवलका कृष्ण कुमाललाई प्रमुख स्वकीय सचिव, दाङका टीका बस्नेतलाई प्रेस संयोजक, सचिवालयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारी र कम्प्युटर अपरेटरमा दाङका विपीन केसीलाई नियुक्त गरेका थिए ।
यसअघिका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ जनाकोसचिवालय बनाएर आफन्तहरु नियुक्त गरेको भन्दै चर्को आलोचना भएको थियो ।
प्रतिक्रिया 4