
२५ माघ, विराटनगर । मोरङ कारागारमा रहेका गुणनाइके अभिषेक गिरी भीमफेदी कारागारमा स्थानान्तरण नहुने भएका छन् । उनलाई ३ फागुनमा मोरङ कारागारबाटै कैदमुक्त गर्न जिल्ला प्रशासन कार्यालय मोरङले प्रक्रिया अघि बढाएको छ ।
कैद अवधि सकिनै लागेका कारण कारागार व्यवस्था विभागलाई लेखेर पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । ‘कैद भुक्तान अवधि सकिनै लागेका कारण यहाँबाट विभागमा लेखी पठाएका छौं’, उनले भने, ‘विभागको निर्णय आएको छैन ।’ कैदभुक्तान अवधि सकिनै लागेका कैदीले मुद्दा मामिला गरेका कारण स्थानान्तरण नभएको उनले बताए ।
मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार चौकीदारले पाउने सुविधा अनुसार उनको कैद मुक्तान अवधी फागुन ३ गते पूरा हुँदैछ । कैदीपूर्जीमा भने उनको कैद भुक्तान अवधि २०८० साउनसम्म छ । चौकीदार भएका कारण उनले केही समय अगाडि नै जेलमुक्त हुने सुविधा पाएका हुन् ।
गिरीले कैदीबन्दीबाट रकम असुल गरेकोे र कारागारबाटै बजार क्षेत्रमा गुण्डागर्दी गरेको गुनासोपछि पुस २९ गते कारागार व्यवस्था विभागले भीमफेदी कारागार सुरुवा गरेको थियो । गिरीले स्थानान्तरणको निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । गत माघ १२ गते अदालतले उनको रिटमा अन्तरिम आदेश दिएन ।
अपहरण तथा शरीर बन्धक मुद्दाका कैदी गिरी २०७४ चैत २३ गते भन्दा अगाडि मोरङ कारागारमा चौकीदार थिए । कैदीबन्दीलाई यातना र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि उनलाई २०७४ चैत २३ गते मोरङबाट डिल्लीबजार कारागार लगिएको थियो ।
नेपाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनी २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएका थिए । सरकार परिवर्तन भएलगत्तै उनलाई मोरङबाट भीमफेदी सार्ने निर्णय भएको थियो ।
प्रतिक्रिया 4