
काठमाडौं । नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवामा पछिल्ला समय विकास भएका प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा सेवालाई थप परिस्कृत गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शहरी सेवा प्रबन्धका चुनौतीहरूलाई ध्यानमा राख्दै, जीएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा ‘नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण’ विषयक कार्यक्रममा सरोकारहरुले यस्तो जोड दिएका हुन् । अहिले विकास भएका नयाँ प्रविधिहरुको प्रयोगबाट मात्रै गुणस्तरीय सेवा दिन सकिने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले खानेपानीमा डिजिटाइजेसन : समस्या र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा खानेपानी तथा ढल विकास विभागका विभागका महानिर्देशक इन्जिनियर रमाकान्त दुवाडी, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटा, खानेपानी मन्त्रालयकी सहसचिव मिना श्रेष्ठ, खानेपानी विभाग इसाउका डा. रञ्जित ओझाले प्रस्तुतिमाथि टिप्पणी गरेका थिए । उनीहरुले अहिलेका चुनौती र आगामी आवश्यकताबारे आ-आफ्नो धारणा राखेका थिए ।आगामी दिनमा प्रविधिकै प्रयोग गरी सेवा प्रवाह गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा नेपालमा शहरी ऊर्जा र खानेपानीको सेवाप्रवाहमा वर्तमान चुनौतीहरू बुझ्न, सस्तो र पहुँचयोग्य ऊर्जा तथा सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालाहरूसँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्रहरू पहिचान गर्नका लागि छलफल भएको थियो ।
कार्यक्रममा पहुँचयोग्य र किफायती ऊर्जा र सुरक्षित खानेपानीका लागि यस क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरूको विचार र दृष्टिकोण साझा गर्न तथा कम र मध्यम आय भएका देशहरूमा उत्कृष्ट अभ्यासहरू र अनुभवबाट खानेपानी र ऊर्जामा सार्वजनिक तथा निजी साझेदारीलाई स्पष्ट बनाउने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका २० भन्दा बढी सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्थाहरू र जीएसएमएले सहयोग गरेका संस्थाहरु सहभागी थिए ।
प्रतिक्रिया 4