
२५ माघ, काठमाडौं । आफ्नो उत्पादनले बजार नपाएको भन्दै किसानले चरणबद्ध आन्दोलन सुरु गरेपछि उद्योग र कृषि मन्त्रालयले उनीहरुको समस्या समाधानका लागि संयुक्त छलफल गरेका छन् ।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योग र कृषि मन्त्रीले स्वदेशी कृषि उत्पादन खपतमा जोड दिने र गैर कानुनी कृषि उपज आयातलाई नियन्त्रण गर्न समन्वय बढाउनु पर्नेमा जोड दिएका हुन् ।
नेपालमा कृषि उपज उत्पादन र आयातको अवस्थाबारे आयोजित छलफलमा उद्योग मन्त्री दामोदर भण्डारीले भन्सार क्वरिन्टिन प्रभावकारी बनाउन, बजारीकरणमा सरकारी संयन्त्र प्रयोग गर्न सरकारी निकायलाई आग्रह गरेका थिए ।
किसानको उत्पादनले बजार पाउनु पर्नेमा विषय जोड दिंदै उनले स्वदेशी वस्तु प्रयोगको वातावरण बनाउन पनि आग्रह गरे ।
यस्तै कृषि मन्त्री ज्वालाकुमारी साहले किसान बचाउन अपनाउनु पर्ने विद्यमान कानुनको सही परिपालनमा जोड दिएकी थिइन् । किसानहरु कृषिमै टिकाउनु पर्ने भन्दै उनले त्यसका लागि उनीहरुको उत्पादनको बजार ग्यारेन्टी हुनुपर्ने बताइन् ।
किसानका समस्याहरु समाधान गर्न सरकारका सबै निकायले प्रभावकारी समन्वय गर्नुपर्ने, स्वदेशी उत्पादनको बजार सुनिश्चितताका लागि कानुनी व्यवस्थाको कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको थियो ।
आन्तरिक छलफलमा नेपालमा कृषि वस्तुको उत्पादन, उपभोग र आयातको अवस्थाबारे उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव डा. नारायणप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
‘मन्त्रालयले आयोजना गरेको सरकारी संयन्त्रहरुको आन्तरिक छलफलमा कृषि र वाणिज्य मन्त्रीको जोड कृषक बचाउन स्वदेशी उत्पादन प्रयोग बढाऔं भन्नेमा थियो’ प्रवक्ता समेत रहेका सहसचिव रेग्मीले भने, ‘सरकार सबै नियकाले ध्यानपूर्वक कानुन पालन गरेर समन्वयात्मक भूमिका निभाउने विषयमा सहमत भएका छौं ।’
प्रतिक्रिया 4