२६ माघ, काठमाडौं । मार्कुस रासफोर्ड र जाडोन सान्चोले दोस्रो हाफमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लिड्ससँग पुनरागमन गर्दै बराबरी खेलेको छ ।
दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले पुनरागमन गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलको पहिलो मिनेटमै विलफ्रड जिनोन्टोले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुमा लिड्सले अग्रता दोब्बर बनायो । युनाइटेडका राफायल भरानले आत्मघाती गोल गरेपछि लिड्सले ४८औं मिनेटमा २-० को अग्रता लियो । तर लिड्सले अग्रता कायम राख्न सकेन भने युनाइटेडले पुनरागमन गर्यो ।
६२औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गर्दै गोल अन्तर घटाए । ७०औं मिनेटमा सान्चोले बराबरी गोल गरे ।
बराबरीपछि तेस्रो स्थानको युनाइटेडको २२ खेलबाट ४३ अंक छ । लिड्स २१ खेलबाट १९ अंक जोडेर १६औं स्थानमा छ ।
प्रतिक्रिया 4