
२६ माघ, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशसहित गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मर्जरमा जाने सञ्चालक समितिको निर्णयलाई पारित गरेको छ ।
बिहीबार सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले साधारण र संस्थापक सेयर संरचना परिवर्तन गरी १९ प्रतिशत संस्थापक सेयरधनीलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
कम्पनीको साधारणसभाले सेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.९७ प्रतिशत बोनश सेयर प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै कम्पनीको हालको सेयर संरचना अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत सेयरमध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने सञ्चालक समितिको सम्झौतालाई अनुमोदन गरेको कम्पनीले जनाएको छ । तीन संस्थाबीच आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता पत्र, कम्पनीको सेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिको निर्णयहरु सभाले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।
यसैगरी सो साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
प्रतिक्रिया 4