
२६ माघ, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक नबनेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले बिहीबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।
चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको भन्दै स्थानीयले तत्काल सडक बनाउन माग गरे । उनीहरुले ‘धुलो कहिलेसम्म ?’ चार लेन ठेक्का तत्काल ठेक्का रद्द गर, नयाँ प्रक्रिया गर’ लगायतको प्ले कार्डसहित सडक चक्काजाम गरेका हुन् ।
सोक्रममा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक गिरी पनि करिब १५ मिनेट जाममा परे । उनले सडक जामकाबीच गाडी अगाडि बढाउन खोजेपछि विवाद भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका विशाल अधिकारी पनि सडक नबनको विरोधमा उत्रिएका थिए । उनले लामो समयदेखि सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै सडक छिटो भन्दा छिटो बनाउनुपर्ने बताए । उनले समयमै सडक नबन्दा जीवनको मुल्य चुकाउनु परिरहेको बताए । ‘हरेक दिनजसो सडक दुर्घटना भइरहो छ’ उनले भने, ‘यो सडक होइन धराप हो ।’
मंगलबार पनि चारलेन सडक बनाउन माग गर्दै तुलसीपुर–घोराही सडक खण्डको हात्तीखौवामा स्थानीयले सडक अवरुद्ध गरेका थिए । सडकमा अलपत्र हुँदा धुलोधुवाँ भएपछि स्थानीयले दुईघण्टा सडक अवरुद्ध गरेका थिए ।
दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर लामो सडक चार वर्षदेखि अलपत्र छ ।
प्रतिक्रिया 4