+
+

आन्दोलन गर्ने विद्यार्थीलाई निष्काशन गर्ने चक्रवर्ती कलेजको धम्की

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १७:४३

२७ माघ, काठमाडौं । चक्रवर्ती कलेजले आन्दोलन गर्ने विद्यार्थीको अभिभावकलाई फोन गरेर निष्कासन गर्ने धम्की दिइरहेको अभिभावकहरुले जानकारी दिएका छन् । बीए एलएलबी तहको शुल्क बढाउनुको साथै समयमा शुल्क तिर्न नसक्नेलाई जरिवाना तोकेपछि विहीबार आन्दोलित भएका थिए ।

विहीबार आन्दोलनरत विद्यार्थीहरुलाई क्याम्पस प्रमुख देवेन्द्रबहादुर भन्डारीले विद्यार्थीहरुलाई अपशब्द प्रयोग गर्दै घर जान धम्काएको विद्यार्थीहरु बताउँछन् । तर, साँझ नै क्याम्पस प्रशासनले नियमित कक्षा हुने र फागुनको दुई गतेपछि शुल्कबारे छलफल हुने आश्वासन दिएपछि विद्यार्थीहरु घर फर्किएका थिए ।

शुक्रबारबाट नियमित कक्षामा विद्यार्थी सहभागी भए पनि क्याम्पसको ल्यान्डलाईनबाट आन्दोलनमा सहभागी विद्यार्थीको अभिभावकलाई फोन गरेर पढ्न छोडेर राजनीति गरिरहेकोले सम्झाउन नभए निष्काशन गर्ने धम्की दिइरहेको अभिभावकहरुले जानकारी दिए । एक अभिभावक भन्छन्, ‘कलेजबाट फोन गरेर तपाईंको छोरा यहाँ पढ्न छोडेर राजनीति गर्न थालेका छन् । उनलाई सम्झाउनुहोस्, नत्र हामी कलेजबाट निकाल्छौं भन्नुभयो ।’

क्याम्पसले अर्की एक विद्यार्थीको अभिभावकलाई फोन गरेर ‘तपाईको छोरीलाई पढ्न पठाएको हो कि आन्दोलन गर्न ? कलेज प्रशासनको नियम विपरीत आन्दोलन गर्दै हिड्ने ? तपाईको छोरीलाई यही संस्कार सिकाएको हो ? यस्तै हो भने तपाईको छोरीलाई निकाल्दिन्छौ ।’ भनेको अभिभावक बताउँछन् । कलेजमा आन्दोलन भएको केही मेसो नपाएको अभिभावकलाई फोन गरेर क्याम्पसले मानसिक तनाव दिएको उनको भनाइ छ ।

कानून पढाउने कलेजले कानुनविपरीत अभिभावकलाई फोन गरेर मानसिक तनाव दिएको एक विद्यार्थी बताउँछन् । उनी भन्छन्, ‘म वकिल पढ्न आएको छु । आफ्नो हक अधिकारको लागि आवाज उठाउँछु । तर, मेरो बुवालाई फोन गरेर यसरी धम्की दिन मिल्छ ?’ पहाडमा रहेको उनको बुवालाई फोन गरेर क्याम्पसले सम्झाउन लगाएको बताए ।

क्याम्पस प्रमुख दीपकबहादुर भन्डारी र कोअर्डिनेटर दीपक बाल्मिकीसँग कुरा गर्न खोज्दा दुवै जनाको फोन उठेन ।

किन आन्दोलित भए विद्यार्थी ?

कलेजले ७ लाख १६ हजार बढाएर चालु शैक्षिक सत्रमा १० लाख ७० हजार पुर्‍याएको र समयमा शुल्क नतिर्ने विद्यार्थीलाई दैनिक ९ प्रतिशत जरिवाना शुल्क लगाएर अन्याय गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थीहरु बताउँछन् ।

मंसिरबाट कक्षा सुरु भएको कलेजले पुस र माघ महिनाको माघ ११ गतेसम्म तिरिसक्नुपर्ने समायावधि तोकेको थियो । माघ ११ गतेभित्र तिर्न नसकेको विद्यार्थीलाई २० गतेसम्म १० प्रतिशत र २० गतेपछि तिर्नेलाई २० प्रतिशत जरिवाना शुल्क लिएको र फागुन महिनाको पनि फागुन ३ गतेभित्र तिरिसक्नु भनेपछि विद्यार्थीहरुले विहिबार दिनभर कलेजमा आन्दोलन गरेका थिए ।

उनीहरुले अहिले कुल शुल्क घटाउनुपर्ने, महिनाको अन्तिममा शुल्क तिर्न पाउनुपर्ने, जरिवाना हटाउनुपर्ने, पुस्तकालयमा पर्याप्त पाठ्यसामाग्री हुनुपर्ने, शौचालय बनाउनुपर्ने लगायतको माग राखेका थिए ।

कलेजले सय विद्यार्थी भर्ना गर्नुपर्ने भएपनि तेब्बर (तीन सय) विद्यार्थी भर्ना गरेर आवश्यक व्यवस्थापनमा हेलचेक्रयाई गरिरहेको विद्यार्थीको गुनासो छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले पैसाको लोभमा पाएको कोटाभन्दा बढी विद्यार्थी भर्ना लिएर विद्यार्थीलाई अन्याय गरिरहेको विद्यार्थीहरु बताउँछन् ।

विश्वविद्यालयले कलेजलाई सय वटा कोटा दिएपनि कलेजले यो शैक्षिक सत्रमा तीन सय जना भर्ना लिएको छ । अघिल्लो वर्ष पनि २५० जना विद्यार्थीको भर्ना लिएपछि डेढ सय विद्यार्थीको रजिष्ट्रेसन मुद्दा लडेर अल्पकालीन नम्बर लिएर दिएको एक विद्यार्थी बताउँछन् ।

उनी भन्छन् ‘कलेजले पैसाको लोभमा विश्वविद्यालयले दिएको कोटा भन्दा बढी भर्ना लिएको छ । विश्वविद्यालयले कोटाभन्दा बढीका डेढ सय विद्यार्थीको लागि ‘राईट टु एजुकेशन’ मुद्दा लडेर अल्पकालीन रजिष्ट्रेशन बाँडेर भ्रममा पारेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?