
२७ माघ, काठमाडौं । पाँच वर्षमा दुई पटक फुटेर त्यति नै पटक जुटेको विवेकशील साझा पार्टी यतिखेर आफ्नो पहिलो महाधिवेशन गरिरहेको छ । ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज लेखेर विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपातिर मार्ग परिवर्तन गरेका थिए ।
मिश्रले दिएको चोटमा यतिखेर विवेकशील साझा महाधिवेशनको मल्हम लगाउँदैछ । ‘हामीले भोगेको चोटको मल्हम हो यो महाधिवेशन,’ विवेकशील साझा अध्यक्ष समिक्षा बाँस्कोटा भन्छिन् ।
वैकल्पिक राजनीतिको अभ्यास गर्ने भन्दै उदाएका विवेकशील र साझाको संयोजनबाट जन्मेको विवेकशील साझा टुटफुटमा अल्झिरहँदा उसैले बनाएको बाटो हिडेर अरु वैकल्पिक राजनीतिक दलहरु संसदमा पुगे ।
वैकल्पिक राजनीतिमा नयाँ दलहरुको जर्बजस्त हस्तक्षेप देखेरै हुनुपर्छ यसपटक विवेकशिल साझाले आफूलाई ‘वैकल्पिक राजनीतिको नयाँ मुलधार’का रुपमा स्थापित गर्न खोजीरहेको छ ।
टुटफुटको अनुभवबाट सिकेर नयाँ बाटोमा हिड्ने तयारी गरिरहेको विवेकशील साझालाई जनमत पार्टीका अध्यक्ष सिके राउतले वैकल्पिक राजनीतिका केही टिप्स दिए । विवेकशील साझाले गरेको केही गल्ति पनि औंल्याइदिए ।
‘वैकल्पिक राजनीतिको नयाँ मूलधार’ बन्ने प्रयासमा लागेको विवेकशील साझालाई राउतले व्यवहारिक राजनीतिका टिप्स सुनाए ।
०७४ पछिका दुई दूई चुनाव (प्रदेश, प्रतिनिधि र स्थानिय)मा विवेकशील साझा कमजोर बन्दै गएको तथ्य उप्काउँदै राउतले नागरिकको असन्तुष्टि क्यास गर्न विवेकशील साझा असफल भएको सुनाए । विवेकशील साझाको राजनीतिक एप्रोच र त्यहाँभित्र देखिएको वैचारिक खिचातानीका कारण चुनावमा विवेकशील साझा असफल भएको राउतको भनाइ थियो ।
‘वैकल्पिक शक्ति भनेका छन् त्यो कतै ल्याबमा गरिएको परीक्षण जस्तो त भइरहेको छैन ?,’ राउतले विवेकशील साझाको हुर्काइमाथि शंका गरे ।
महाधिवेशनमा आमन्त्रित पाहुनलाई गमलामा राखेको फूल उपहार दिइरहेको विवेकशील साझालाई त्यही फूलको उदाहरण सुनाए राउतले । विवेकशील साझा गमलामा राखेको गुलाफ जस्तो भएको टिप्पणी गर्दै राउतले राजनीतिमा टिक्ने जब्बर उपाय सुझाए, ‘राजनीतिमा टिक्नका लागि गमलामा राखेको गुलाफले पुग्दैन जंगलमा फूलेको गुलाफ जस्तो हुनुपर्छ । अनि मात्र राजनीतिमा टिक्न सकिन्छ ।’
आदर्श र सिद्धान्तका मतभेदलाई पन्छाउँदै वैकल्पिक राजनीतिलाई व्यवहारिक बनाउनुपर्ने सुझाइरहेको राउतले विवेकशील साझालाई जनतामाझ गएर मात्र राजनीति गर्न सकिने टिप्स दिए ।
विवेकशील साझाले माईतिघरमा गरेको सिर्जनात्मक आन्दोलनले मात्र वैकल्पिक राजनीति स्थापित गर्न पर्याप्त नहुने राउतले सुनाए । माईतिघरमा गरिएको आन्दोलन प्रयोगशालामा गरिएको परिक्षण मात्र भएको बताउँदै राउतले जनस्तरमा पुगेर आन्दोलन गर्नुपर्ने सुझाए ।
‘जनता असन्तुष्ट छन् । विकल्प खोजिरहेकाछन भन्दैमा तपाईलाई कसैले रेड कार्पेट ओच्छ्याएर स्वागत गर्नेवाला छैनन्,’ व्यवहारिक राजनीति सिकाउँदै राउतले भने, ‘तपाईहरुलाई त लाग्छ हामी त अरु भन्दा एकदम स्वच्छ छौं । मेरिटमा विश्वास गर्छौ । यति भएपछि जनताले हामीलाई मौका दिन्छन भन्ने नसोच्नुहोस । यस्तो हिजो पनि भएको थिएन आगामि दिनमा पनि देखिदैंन । यहाँ तपाईलाई स्वागत गर्न कोही बसेको छैन ।’
ठूला र स्थापित दलहरुको राजनीतिक सिण्डीकेट चिर्दै उदाउन व्यवहारिक राजनीतिमा जोड दिन विवेकशील साझालाई राउतले अनुरोध गरे । ‘सक्षम छु । विज्ञ छु । इमानदार छु भन्दैमा जनताले पत्याउँदैनन् । मत हाल्दैनन् ,’ राउतले भने, ‘अरु पार्टीले बाटो छाडेर रातो कार्पेट ओच्छ्याएर स्वागत गर्दैनन् । त्यसैले आफ्नो ब्राण्डिङ र मार्केटिङ पनि गर्नुपर्छ ।’
आफैले संघर्ष गरेर मात्र राजनीतिमा स्थापित हुन सकिने उदाहरण सुनाउँदै राउतले अरु दलको लोभ गरेर राजनीतिमा छिटो स्थापित हुने बाटो नरोज्न अनुरोध गरे । उनले भने, ‘शीघ्रतासाथ सफलता पाउछु भनेर नसोच्नुहोस । सफलतासम्म पुग्न अनेक पीडा हुन्छन् । चरण हुन्छन्, संघर्ष हुन्छ । कसैले जर्बजस्ती सफल बनाइदियो भने टिक्न सक्नुहुन्न भन्ने कुरा ध्यानमा राख्नुहोला ।’
आदर्श र सिद्धान्तमा मात्र नअल्झिकन नतिजा दिने काममा केन्द्रित हुन उनले विवेकशील साझालाई आग्रह गरे । आदर्श र सिद्धान्तको बहसमा मात्र अल्झिदा पार्टीभित्र टुटफुट हुने भन्दै उनले राप्रपा र माओवादी वैचारिक मतभेदलाई पन्छाउँदै साझा उद्देश्यपूर्तिका लागि एकै ठाउँमा आएको उदाहरण सुनाए ।
‘वैचारिक मतभिन्नतालाई प्राथमिकतामा राख्यौं भने फेरि पनि धेरै पटक तपाईहरुको पार्टी छिन्नभिन्न हुनसक्छ,’ रातउले सुनाए, ‘मतभिन्नतालाई थाती राख्दै समान र साझा उद्देश्य बनाउँदै तिनबाट के पाउन सक्छौ भनेर अगाडि बढ्नुभयो भने मात्र दीर्घकालसम्म जान सक्छौं ।’
सरकार र संसदलाई मात्र प्राथमिकतामा नराख्नसमेत राउतले विवेकशील साझालाई सल्लाह दिए । वैकल्पिक शक्तिहरु एकै ठाउँमा उभिएर साझा उद्देश्यका लागि आन्दोलन गरेर मात्र, ‘दलीय सिण्डिकेटलाई तोडेर अगाडि बढ्न सक्छौ । नभए त हामी पनि सिस्टमत्रि हराउने सम्भावना हुन्छ ।’
मिश्रसँग रिसाएको विवेकशील साझा
विवेकशील साझाले आफ्नो पहिलो महाविधेशनमा वैकल्पिक राजनीतिको अभ्यास गर्नेहरुलाई मात्र बोलाएको देखियो । मञ्चमा उज्ज्वल थापाको तस्वीर राखिएको महाधिवेशन उद्घाटनमा सीके राउत । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई । एमाले छाडेका नेता घनश्याम भूसाल । नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारीलाई बोलाइएको थियो ।
विवेकशील साझा छाडेर राप्रपा गएका रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा बोलाइएन । ‘पार्टी टुक्राटुक्रा बनाएको तातो रिस थियो,’ महाधिवेशन आयोजक कमीटिका एक सदस्य भन्छन्, ‘त्यो रिसले बोलाइएन ।’
अध्यक्ष बाँस्कोटाले महाविधेशन गरेर आफूहरुले मिश्रलाई देखाइदिएको बताइन्। विवेकशील साझाको राप्रापकरण गर्न लागेका मिश्रको हातबाट पार्टी जोगाएर यहाँसम्म ल्याईपुर्याएको उनको भनाइ थियो । ‘उहाँ त पार्टी नै सिध्याउन लाग्नु भएको थियो । यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो ।’
‘बोलाएको भए पनि हुने । आफ्नो कारणले पार्टी टुक्रिएको त उहा (रवीन्द्र मिश्र)लाई पनि रियलाइज त भैसक्यो नि,’ दर्शनाले टिप्पणी गरिन् ।
एकीकृत हुने अन्तिम अवसर
छिन्नभिन्न भएको विवेकशील साझाले आफ्नो पहिलो महाधिवेशनलाई पार्टीको अस्तित्व जोगाउने अन्तिम अवसरका रुपमा लिएको छ । पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा भन्छिन, ‘यो हाम्रा लागि अन्तिम अवसर हो । अब पनि हामी एकजुट भएर जान सकेनौं भने हाम्रो अभियानकै अस्तित्व सकिन्छ ।’
गएको चुनावमा स्वतन्त्र उम्मेदवार भएका मिलन पाण्डे र करिब डेढ वर्षदेखि स्वतन्त्र रहेकी रञ्जु पाण्डे यतिखेर विवेकशील साझामा फर्किएकाछन् । पाण्डे अध्यक्ष पदमा उम्मेदवारी दिदैंछन् । दर्शनाले महासचिवमा आफ्नो दाबी पेश गरेकीछिन् ।
वर्तमान अध्यक्ष बाँस्कोटा पनि अध्यक्ष पदमा दाबी गरिरहेकीछिन् । पाण्डे र बाँस्कोटा दुवैजना आफ्नो पक्षमा सर्वसम्मती गराउने पक्षमा छन् । ‘भर्खर जुट्दैछौ त्यसैले हामी सकेसम्म मतदानमा नगई सर्वसम्मती गराउने प्रयत्न गर्छौ,’ पाण्डेले भने । महासचिव पदमा पनि सर्वसम्मती हुनुपर्ने पार्टीभित्रै आवाज उठिरहेको छ ।
टुटफुटको श्रृखंलाले आफूहरुलाई जुटेर जानुपर्ने पाठ सिकाएको बताउँदै दर्शनाले भनिन्, ‘अब मिलेर जानुको विकल्प छैन । विवेकशील साझालाई वैकल्पिक शक्तिको मार्गमा फेरि स्थापित गर्ने यो अन्तिम अवसर हो ।’
निरन्तरको संघर्षले नै राजनीतिमा सफल बनाउने भन्दै पूर्वप्रधानमन्त्री बाबुरा भट्टराईले पनि विवेकशील साझालाई हौस्याए । उनले भने, ‘राम्रो काम कसरी गर्ने भनेर केन्द्रित हुनुहोस्। राजनीति अपजसे पेशा हो । चिप्लेपछि भिरबाट लडेपछि सिध्याउँछन् । लडिन्छ, पछारिइन्छ, धुलो लाग्छ टकट्याउनुहोस र फेरि उठ्नुहोस ।’
प्रतिक्रिया 4