
२८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको भेटवार्ता भएको छ । शनिबार टीकापुरस्थित चौधरीको घरमा उनीहरुबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहले अनलाइनखबरलाई बताए । ‘उहाँहरुले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि मेरो नेतृत्वमा सरकार गठन भएको छ । मुख्यमन्त्री भएपछि पहिलो पटक उहाँसँग भेटघाट भयो’, शाहले अनलाइनखबरसँग भने, ‘समान्य राजनीतिक विषयमा कुराकानी भयो ।’
तपाईंले उहाँसँग विश्वासको मत पनि माग्नुभयो भन्ने जिज्ञासामा शाहले भने, ‘हो, त्यो विषयमा पनि सामान्य कुरा भयो ।’ रञ्जितालाई भेट्नुअघि मुख्यमन्त्री शाहले टीकापुरस्थित रेशम चौधरीको घरमा पुगेर उनका परिवारका सदस्यसँग पनि भेटघाट गरेका थिए ।
शाहले टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नाउपाका संस्थापक तथा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका श्रीमान रेशम चौधरीको रिहाइका लागि पहल गर्ने आश्वासन समेत दिएका छन् ।
सुदूरपश्चिममा एमालेका राजेन्द्र सिंह रावललाई मुख्यमन्त्रीमा समर्थन गरेको नाउपाले माग, मुद्दा सम्बोधन नभएको भन्दै विश्वासको मत नदिएपछि बिहीबार उनी नेतृत्वको सरकार ढलेको थियो । बिहीबार नै प्रदेश प्रमुख देवराज जोशीले ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
शुक्रबार पदभार ग्रहण गरेका शाहले शनिबार टीकापुर पुगेर नाउपाकी अध्यक्षलाई भेट्नुलाई अर्थपूणर् रुपमा हेरिएको छ । तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका शाहलाई अहिलेको अवस्थामा कांग्रेसका १९, नेकपा(एकीकृत समाजवादी) का ४ र स्वतन्त्र सांसद डा. तारा जोशीसमेत गरेर २४ जनाको समर्थन देखिन्छ । तर उनी नाउपा र नेकपा माओवादी केन्द्रलाई समेत विश्वासमा लिने रणनीतिमा सक्रिय छन् ।
प्रतिक्रिया 4