
२९ माघ, काठमाडौं । चितवन २ मा वैशाख १० गते उपचुनाव घोषणा हुनेबित्तिकै राजनीति वृत्तमा चर्चा बढेको छ । नागरिकता विवादमा दोषी देखिएका कारण सत्ता–बहिर्गमित रास्वपा सभापति रवि लामिछाने यसअघि उक्त क्षेत्रमा विजयी भएका थिए ।
लामिछानेको पद गुमेसँगै खाली चितवन २ को प्रतिनिधिसभा सिटमा चुनाव हुन लागेको हो । उक्त क्षेत्रबाट पाँच वर्षअघि जितेका एमाले सांसद कृष्णभक्त पोखरेल लामिछानेसँग पराजित हुन पुगेका थिए । उनले तेस्रो मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले दोस्रो मत पाउँदै लामिछानेको निकटतम प्रतिद्वन्द्वी बन्न पुगेका थिए ।
हाल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले, रास्वपासहितको समर्थनमा प्रधानमन्त्री बनेको अवस्थामा एमालेले आफ्नो उम्मेदवार उठाउला कि विगतमा जितेका रवि लामिछानेलाई नै साथ देला ?
अहिले यो जिज्ञासा एमालेतर्फ पनि तेर्सिएको छ । लामिछानेलाई एमाले अध्यक्ष केपी ओलीको राम्रै ढाडस रहेको घटनाक्रमहरुले देखाउँछ । उसो त नागरिकतासँगै रवि लामिछाने राहदानी विवादमा पनि मुछिएकाले के होला भन्ने प्रश्न पनि जीवितै छ ।
अनलाइनखबरले एमाले महासचिव शंकर पोखरेललाई चितवन २ मा एमालेले के गर्छ भनेर सोध्यो ।
पोखरेलले भने, ‘सत्ता गठबन्धन बनेको हुँदा त्यो स्पिरिटलाई कसरी कायम राख्ने भनेर छलफल हुनु स्वभाविक हो । भर्खरै यो न्युज (उपचुनावको) आएको छ । हामी पार्टीमा र गठबन्धनमा यसबारेमा विस्तृत छलफल गर्छौं ।’
उनले छिटै यसबारे निर्णय हुने बताए ।
प्रतिक्रिया 4