
काठमाडौं । हास्यकलाकार मदनकृष्ण श्रेष्ठले अलिअलि ठट्यौलीमा गम्भीर कुरा सुनाए, ‘मिल्ने भए अहिले पनि म बालक र विद्यार्थी बन्थें । तपाईंहरुजस्तै खेलकुद र साहित्यका कुरा गर्थें । तर मेरो उमेर गयो ।’
दर्शकदीर्घाबाट आवाज आयो, ‘उसो भए शिक्षक बन्न आउनुहोस् ।’
मदनकृष्णले फर्काए, ‘त्यो पनि सक्दिनँ । बरु कहिलेकाहीं यसैगरी आफ्नो कुरा सुनाउन आउँछु ।’
राधाकृष्णनको किताबबाट उद्धृत गर्दै उनले सुनाए, ‘पैसा असल सहयोगी तर खराब मालिक हो । तपाईंहरुले अक्षरा बालसाहित्य महोत्सवबाट पाउने ज्ञानले पैसालाई असल साथी बनाओस्, खराब मालिक नबनाओस् ।’
अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सवमा आइतबार मदनकृष्णले प्रमुख अतिथिका रुपमा यी अनुभव सुनाएका हुन् । उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो ।
महोत्सवका प्रमुख अतिथि कलाकार श्रेष्ठले बालबालिकालाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताए । ‘हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुराहरुलाई काँटछाट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन । यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ,’ उनले भने ।
बालबालिकामा निर्धारित पाठ्यपुस्तकबाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लेखक नीलम कार्की निहारिका र बुद्धिसागरसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
अन्तरक्रियामा लेखकहरुले व्यावहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको धारणा राखे । बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भएपनि हालसम्म बाल तथा किशोर साहित्यसम्बन्धी साम्रगी सहज उपलब्ध नहुनु दुःखद् रहेको बताए ।
अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताइन् ।
प्रतिक्रिया 4