
दुबई । अभिनेता अनमोल केसीले ‘कबड्डी ५’ खेल्ने चाहना व्यक्त गरेका छन् । निर्देशक रामबाबु गुरुङले आफूलाई फिट देखे उक्त श्रृंखलामा जोडिन तयार रहेको उनले बताए ।
दुबईको स्टार सिनेमाज् मल्टिप्लेक्समा आयोजित ‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले ‘कबड्डी’ आफ्नो मनपर्ने फिल्म समेत भएको बताए ।
‘निर्देशक रामबाबु दाइले मलाई फिट देख्नुहुन्छ भने म रेडी छु । कबड्डी ४ मेरो मनपर्ने फिल्म समेत हो,’ अनमोलले अनलाइनखबरसँग भने । चलचित्र विकास बोर्डले यूएईको दुबईमा आयोजना गरेको नेपाल सिनेमा फेस्टअन्तर्गतको पहिलो दिन ‘कबड्डी ४’ स्क्रिनिङ गरिएको थियो ।
अनमोलले पूरै समय बसेर कबड्डी ४ हेरे । यो फिल्म हेर्न उनलाई अभिनेत्री उपासना सिंह ठकुरीले पनि साथ दिएकी थिइन् । उपासनाले कबड्डी ३ मा अभिनय गरेकी थिइन् । दुबई पुगेदेखि अनमोल र उपासना एकसाथ छन् । ‘सेम जेनेरेसन भएकाले पनि हाम्रो दोस्ती भएको हो,’ अनमोलले भने ।
अनमोल अभिनित फिल्म ‘छड्के २’ फागुन १९ गते देशव्यापी प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4