
१ फागुन, काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताए ।
कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’ उनले भने, ‘…जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको निरिहता दिवस भनेर मनाउनुपर्छ । जनयुद्ध दिवस भनेर सार्वजनिक बिदा दिनुजस्तो ज्यादती केही हुँदैन ।’
मानवअधिकारकर्मी चरण प्रसाईंले वर्तमान सरकार पीडितको नभई पीडकको पक्षमा उभिएको बताए । उनले हत्या, हिंसा गरेको दिनलाई दिवसको रुपमा मनाउनु नाजायज भएको जिकिर गरे ।
हेर्नुहोस् थप तस्वीरहरु :
प्रतिक्रिया 4