
१ फागुन, मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न सोमबारदेखि दुई महिनासम्म त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधानलाई सोमबार बिहानैदेखि मकवानपुरको चित्लाङ, थानकोट हुँदै पठाइएको छ ।
प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार दुई महिनासम्म काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन (सुमो, जीप, कार, मोटरसाइकल र मिनी बस) ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिङ्गन हुँदै कान्तिलोकपथबाट चल्नेछन् ।
बागमती प्रदेश सरकारले भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडक मर्मत गर्ने निर्णय गरेकाले दुई महिनाका लागि यातायात सञ्चालनमा रोक लगाईएको हो । उक्त सडकको विकल्पमा कुलेखानी, थानकोट र भट्टेडाँडा कान्तिलोकपथबाट सवारी साधन सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ करिब दुई हजारभन्दा बढी हल्का सवारीसाधन दैनिक सञ्चालनमा रहेको नारायणी यातायात व्यवसायी सङ्घका महासचिव सरोजकुमार खनालले जानकारी दिए ।
प्रतिक्रिया 4