
१ फागुन, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारलाई यथाशीघ्र प्रहरी समायोजन ऐन र निजामती ऐन कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
जन युद्ध विसको अवसरमा गृह तथा सञ्चार मन्त्रालयले आयोजन गरेको कार्यक्रमलाई सम्बोध गर्दै मुख्यमन्त्री यादवले संघीयतालाई बलियो बनाउन प्रहरी समायोजन ऐन र निजामित ऐन यथासिघ्र कार्यन्वयन गर्नुपर्ने बताए ।
’सबभन्दा बढी संघीयता चाहने पार्टी, बलिदान दिने पार्टी माओवादी हो। आज माओवादी नेतृत्वको संघीय सरकार छ । प्रहरी समायोजन ऐन, निजामती ऐन र नागरिकता विधेयक सम्बन्धि विधेयक पारित गरी लागु गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने विश्वास छ । यसले संघीयता बलियो पनि हुन्छ र विकाशले गति लिन्छ ’, मुख्यमन्त्री यादवले भने ।
उनले संघीयता आउनुमा माओवादीको दश वर्षे जनयुद्धको सबभन्दा ठूलो भूमिका रहेको चर्चा गरे । उनले मधेशमा मधेश जनता रहेसम्म संघीयता रहिरहने जिकिर गरे ।
’हामीले पहिले संघीयताको कुरा काठमाडौंमा उठाउँदा देश टुक्र्याउन खोज्दै छ भन्थ्यो । तर पछि जब माओवादीले १० वर्ष जनयुद्ध गर्यो, हामीले संघीयता प्राप्त गर्यौं’, उनले थपे, ‘आजको दिनमा चुनाव जितेर आएका केही व्यक्ति संघीयता चाहिँदैन भन्छन् । उनीहरुले भीखमा दिएको होइन संघीयता । संघीयता हजारौको बलिदानपछि आएको हो । जवसम्म यो मधेश प्रदेशमा जनता रहन्छ, तब सम्म देशमा संघीयता रहिरहन्छ ।’
प्रतिक्रिया 4