
१ फागुन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सोमबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटवार्ता गरेका छन् ।
सोमबार काठमाडौं ओर्लिएलगत्तै समकक्षी भरतराज पौड्यालसँग भेट गरेर द्विपक्षीय छलफल गरेका क्वात्राले त्यसपछि परराष्ट्र मन्त्रालय पुगेर मन्त्री पौड्यालसँग भेट गरेका हुन् ।
परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको मन्त्री पौड्यालले बताइन् ।
‘भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाइ रुट दिनेबारे समेत छलफल भएको छ’ भेटका विषयमा मन्त्री पौड्यालले बताइन् ।
मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने र विद्युत् व्यापारलगायत विषयमा छलफल भएको उनले जानकारी दिइन् ।
भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन् ।
भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार आएका हुन् । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।
भ्रमणका क्रममा क्वात्राले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेछन् । भेटमा उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निम्तो दिनसक्ने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि क्वात्राले आजै भेट गर्नेछन् । भोलि अन्य राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4