
यो आकाश तिमेरुजस्तै करोडौं अरुको पनि हो
यो धर्ती तिमेरुजस्तै अरुको पनि हो
तर किन तिमेरु मात्रै देखिन्छौं दृष्यमा
तिमेर्का छोराछोरी
तिमेर्का भाइ र भतिजहरु
तिमेर्का कुल कुटुम्ब र शाखा सन्तानहरु
किन दिङमिङ लाग्नेगरी तिमेरु मात्रै देखिन्छौं
तिमेरु कुनैबेला शोषक मास्न आयौ
लागेथ्यो हामीलाई मुक्ति दिलाउन आयौ
त्यो बेला तिमेरु र हामी एकै लाग्थ्यो
अहिले विचार गर्दा
तिमेरु लुक्थ्यौ, र हामी लुकाउँथ्यौं
तिमेरु खान्थ्यौ, र हामी पकाउँथ्यौं
तिमेरु लाउँथ्यौ, र हामी सिलाउँथ्यौं
त्यसपछि तिमेरु भिडाउँथ्यौ, हामी भिंड्थ्यौं
देशका लागि सके मार्नुपर्छ, परे मर्नुपर्छ भन्थ्यौ
हामी मर्न र मार्न तयार, लडाइँमा होमिन्थ्यौं
मर्ने यताका हुन् कि उताका
मार्ने निमित्त हात यताका हुन् कि उताका
खासमा दुवैतिर मर्ने हामी थियौं
हाम्रै हातबाट हामीलाई नै मार्ने
खासमा दुवैतिर तिमेरु थियौ।
आजकल किन
तिमेरु र हामी अलग्गै देखिएको ?
पहिले मासेका शोषक र तिमेरु
किन काटिकुटी उस्तै देखिएको ?
आजकल किन यसैयसै मेरो रगत
पहिले जसरी नै उम्लन थालेको ?
प्रतिक्रिया 4