
२ फागुन, रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै रौतहटका एक सञ्चारकर्मी आमरण अनशनमा बसेका छन् ।
गौर नगरपालिका-४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै सञ्चारकर्मी सञ्जय सहनी सोमबार साँझदेखि आमरण अनसनमा बसेका छन ।
२०७१ साल कात्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लालबकैया नदीमा बन्ने पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो ।
२०७४ असारसम्ममा निर्माण सम्पन्न हुनुपर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने योजना थियो ।
पप्पु कन्सन्ट्रक्सनले काम नगरेपछि सडक डिभिजन कार्यालयले सो ठेक्का रद्ध गरेको थियो । रद्ध गरेको ठेक्कामा फेरि काम गराउन सडक विभागले अर्को टेन्डर आह्वान गर्न सकेको छैन । गौर र इशनाथ नगरपालिकालाई जोडने उक्त पुल निर्माण नहुदा दुवै पालिकाका वासिन्दाले आवतजावतमा कठिनाइ भोगिरहेका छन् ।
समयमै पुल नबन्दा २०७५ सालको भदौ ९ गते शनिबार साँझ ७ बजेको समयमा इशनाथ नगरपालिकाको औरैया क्षेत्रबाट गौरको टिकुलिया तर्फ आउदै गरेको डुङ्गा पुलको निर्माणाधीन पिलरमा ठोक्किँदा टिकुलियाका ५ जनाको ज्यान गएको थियो ।
पुल निर्माण तत्काल काम सुरु गर्न दबाव दिन आफू अनसनमा बसेको सहनीले बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव समेत रहेका सहनीले अलपत्र परेको पुल निर्माणका लागि स्थानीयदेखि केन्द्रीय नेताहरुको समेत ध्यानकर्षण गराउन खोजेको जानकारी दिए । पत्रकार सहनी पनि लालबकैया नदी किनारकै बासिन्दा हुन् ।
‘८ वर्षसम्म पनि पुल अलपत्रमा रहदा नेताहरुले अनुगमन बाहेक अरु केही काम गरेनन् । अनुगमन र सान्त्वना भन्दा पनि निर्माण सम्पन्न गराउन सरकारले तत्काल पहल गर्नुपर्छ’ उनले भने, ‘पुल निर्माणको एक मात्र माग राखेको छु । पूरा नभएसम्म यही नदीकै बगरमा अनसनमा रहनेछु ।’
प्रतिक्रिया 4