+
+

क्यानमाथि प्रश्न – नामिबियालाई जित्दा पनि हाम्रो स्वाभाविक उल्लास किन खोसियो ?

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ फागुन २ गते २०:५२

सन्दीप लामिछाने भनिसक्दा कुनै बेला प्रतिभाशाली नेपाली खेलाडी, नेपाली क्रिकेट टिमका कप्तान भन्ने विम्ब आउँथ्यो । उनले रचेका एकपछि अर्को सफलताका कथाले नेपालीहरुलाई भावनात्मक रुपमा बलियो देखाएकै हो । तिनै सन्दीपको नाम अहिले पढ्दा, सुन्दा एउटी नाबालिका बलात्कारको अभियोग लागेका अभियुक्तको विम्ब आउँछ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनी पस्दैगर्दा आम समर्थकको भावना विभाजित देखिन्थ्यो । नेपाली झण्डाको प्रतिनिधित्व गर्ने खेलाडीको गौरवमय विम्बका रुपमा होइन, गम्भीर फौजदारी मुद्दाका प्रतिवादी, अनि क्रिकेट एसोशिएसन अफ् नेपाल (क्यान) को गम्भीर लापरबाहीको फाइदा उठाइरहेका सन्दीपको अनुहार प्रकट भयो ।

नामिवियामाथिको जितले जोकोही नेपाली रमाइरहेको हुनुपर्ने हो । तर जितका बाबजुद सन्दीपको प्रवेशले नेपाली दर्शकहरुको स्वभाविक उल्लास खोसिदिएको छ ।

क्यानलाई प्रश्न छ– के नामिबियामाथि नेपालले रचेको जितमा खुलेर रमाउने अधिकार नेपाली समर्थकलाई छैन ? किन गम्भीर फौजदारी अभियोगमा न्याय निरुपण नहुँदै एक अभियुक्तलाई मैदानमा उतारेका कारण खेल भावना देखाउन पाउने दर्शक चाहनामाथि कुठाराघात गरियो ?

क्यानले पक्कै देखेको हुनुपर्छ– धेरैले सोसल मिडियामा लेखेका छन्, ‘हामीलाई क्रिकेट हेर्न मन छ, तर बलात्कारीको डर छ ।’ यो कुनै आधारहीन आरोप होइन । अनलाइनखबरले यसबारे विगतमा पटक–पटक रिपोर्टिङ गरिसकेको छ । अहिले सन्दीपलाई जोडेर जुन चर्चा भइरहेको छ, विगतमा सन्दीपले पाएका, अनि दिलाएका सफलतामा गौरव गर्न रुचाउने, तर अहिलेको उनीमाथि लागेको अभियोगपछि तत्काल यही अवस्थामा उनको सामाजिकीकरण गर्ने प्रयासको विपक्षमा उभिएको जनमतले यस्तो टिप्पणी गरेको हो ।

त्यसैले क्यानउपर नेपाली नागरिकहरुले प्रश्न उठाउन पाउने ठाउँ छ । अझ अन्तर्राष्टि्य खेल सरोकारवालाहरुको समेत ध्यान आकृष्ट हुनैपर्छ । किनभने झट्ट हेर्दा क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउने निर्णयका पछाडि गम्भीर लापरबाहीमात्रै देखिएको नभई क्रिकेटको निर्णय गर्ने सम्बन्धित निकायकै खराब नियतसमेत झल्कन पुगेको छ ।

नेपाली समाज सहिष्णु छ । तर यसको मतलब यसले पीडितप्रति समभाव देखाउँछ, पीडकप्रति होइन । आधारभूत तथ्य र तर्क भुलेर कसैले सोसल मिडियामा जथाभावी लेख्न थाल्छ भने उसको न्यूनतम मानवीय संवेदना र नागरिक दायित्वमाथि पनि स्वभाविक प्रश्न उठाउन सकिन्छ ।

सन्दीपलाई लागेको आरोप कुनै सामान्य प्रकृतिको होइन, बलात्कारजस्तो जघन्य किसिमको हो, जसका बारे विस्तृतमा पढ्दा, सुन्दामात्रै पनि धेरैको आङ जिरिङ्ग हुन्छ । पितृसत्ताबाट बाहिर नआइसकेको समाजमा यस्ता घटनालाई सामान्यीकरण गर्ने कोशिस हुनेगर्छ । महिलालाई नै दोष लगाउने, सेलेब्रिटीसँग यस्तो भइरहन्छ भन्ने किसिमका चर्चा, अनि गम्भीर मुद्धालाई हल्का ‘गसिप’ को सवाल मान्ने प्रवृत्ति किञ्चित सही होइन ।

विगतमा खेल प्रतिभा देखाएर यो क्षेत्रमै चिनिएका सन्दीपमाथि जुन मुद्दा चल्दैछ, त्यसमा उनले अन्तिम फैसला पाइसकेका छैनन् । त्यसको निर्णयकर्ता अदालत हो ।

मंगलबारको खेल नेपालले २ विकेटले जितेको खेलमा सन्दीपले ३ विकेट लिए र ब्याटिङमा पहिलो बलमै क्याचआउट भए । खेलाडीको रुपमा सन्दीपको भूमिका र नागरिकका रुपमा उनले पूरा गर्नुपर्ने दायित्व र सीमा नितान्त फरक छन् । उनका विगतका योगदानलाई देखाएर राज्यको कानून उल्लंघन गर्दै अमानवीय हर्कत गर्ने छुट उनलाई छैन ।

मुलुकको कानून उल्लंघन गरेको आरोपमा अहिले उनीमाथि राज्य कठोर बनेको हो, खेलाडीको रुपमा होइन । उनी खेलमा सक्रिय हुदै गर्दा कताकता उनीप्रति सहानूभूति बढ्दो छ । सन्दीपविरुद्धको मुद्दामा बहस गर्नुुपर्नेहरु नै मंगलबार महान्यायाधिवक्ता कार्यालयमा उनको खेल प्रत्यक्ष हेरिरहेका थिए ।

यति संगीन आरोप लागेको व्यक्तिले खेलमा दिएको योगदानकै कारण उनले आरोपबाट उन्मुक्ति नपाउन् । उनी मैदानमा प्रवेश गरेको क्षणलाई सामान्य मानेर हेर्न सकिँदैन । सन्दीप लामिछानेलाई अहिलेकै अवस्थामा मैदानमा प्रवेश दिइरहे क्यानमाथिको आम अपेक्षा धुलिसात हुनेछ । क्रिकेटको आधिकारिक निकायबाट भइरहेको यस्तो अक्षम्य क्रियाकलापबारे सरकारले पनि संवेदनशील भएर चासो राख्नुपर्छ । उसले राख्ने चासोमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेटमाथिको राज्य–हस्तक्षेप भनी बुझ्न मिल्दैन ।

अहिले सन्दीपबारे जुन विमर्श भइरहेको छ– यो खेल कम, संविधान र कानुनको पालनाकाे पाटो बढी हो ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?