
२ फागुन, काठमाडौं । यातायात व्यवसायी र मजदुरले सोमबार गरेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि मात्रै तोडफोड र आगजनी भएन । ल्होत्से मलमा बन्द मोबाइल पसलको सटर खोलेर लुटपाट पनि भयो ।
यसअघि विभिन्न समयमा हुने गरेका आन्दोलनहरुमा सार्वजनिक सम्पत्तिमा तोडफोड, क्षति पुग्ने गरेका दृष्टान्तहरु थिए । तर यसपल्ट प्रदर्शनकारीले व्यक्तिगत सम्पत्तिमै तोडफोड र लुटपाट गर्न थालेको नौलो नजिर बस्न गयो ।
गृह मन्त्रालयले यसबारे छानबिन गरेर दोषीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ ।
प्रहरीले चार जनालाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ भने सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजका आधारमा अनुसन्धान सुरु भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले यसको छानबिन थालेको एसएसपी डा. मनोज केसी बताउँछन् ।
छानबिन र कारबाहीको पाटो सुरु भए पनि यातायात व्यवसायीले आफ्नो माग पूरा गराउन गरेको आन्दोलनको क्रममा निजी सम्पत्तिमा पुगेको नोक्सानी सामान्य छैन । नेपालको संविधान र कानुनले कुनै पनि व्यक्तिलाई उसको निजी सम्पत्तिको हकभोग र सुरक्षा गर्न पाउने, राज्यले त्यसको प्रत्याभूति गर्नुपर्ने प्रष्ट उल्लेख गरेको छ ।
यति हुँदाहुँदै पनि बालाजुका पीडित व्यवसायीहरुको सम्पत्ति तोडफोड, लुटपाटको क्षतिपूर्ति कसरी हुन्छ भन्ने अनिश्चित छ । किनभने आज मंगलबार बिहान सरकारसँग वार्ताका क्रममा ती यातायात व्यवसायीका प्रतिनिधिहरुले हिजो सोमबारको लुटपाटको जिम्मा आफूहरुले नलिने बरु ल्होत्से मलले लिनुपर्ने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । राज्यपक्ष यस्तो तर्कउपर कडा नीति लिन हिच्किचाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार भएको छलफलका क्रममा व्यवसायीले ल्होत्से मलले यसको जिम्मा लिनुपर्ने बताएका हुन् । जबकि, मलकै सटरमा प्रदर्शनमा सरिक भएकाहरुले लुट मच्चाएको भिडियो फुटेजहरु सार्वजनिक भएका छन् । तीमध्ये केही त सोमबार साँझसम्म समातिइसकेका नै छन् ।
नेपाल बार एसोसिएसका पूर्वमहासचिव विजय मिश्र आन्दोलनकारीले आफ्नो अधिकार प्रयोग गरेर मागहरु राख्दा अरुको अधिकार हनन् गर्नु हुँदैन भन्नेमा सचेत नभएको देखिएको बताउँछन् ।
‘मादल बजाइसकेपछि नाच्नेको के कमी भन्ने उखानै छ, यस्ता खाले आन्दोलनमा घुसपैठ हुनसक्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले सबै कुरालाई विचार गरेर आमनागरिकलाई असर नहुने गरी आन्दोलन गर्नुपर्ने हो ।’
तर, यसतर्फ आन्दोलनकारीले ध्यान पुर्याउन सकेको देखिँदैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की असम्बन्धित व्यक्तिको पसल खोलेर लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति यातायात व्यवसायी वा मजदुर हुनै नसक्ने बताउँछन् ।
‘यसमा संलग्न विशुद्ध लुटेरा हुन्, लुटेरालाई कुनै संगठन, पेशा वा दलसँग जोड्न जरुरी नै छैन’, कार्कीले अनलाइनखबरसँग भने । मोबाइल लुटिएको पसलका सञ्चालक रतन सुवेदी स्वयम्ले प्रश्न गरेका छन्, ‘एउटा व्यवसायीले अर्को व्यवसायीमाथि दिनदहाडै लुटपाट गर्दा यो व्यवसायीको हक, हितको आन्दोलन भयो कि भएन ?’
सुवेदीका अनुसार सोमबारको घटनामा कम्तीमा ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । भौतिक संरचना र सर्भिस सेन्टरमा मर्मतका लागि ल्याइएका सामग्रीमा पनि क्षति पुगेको छ । ‘भोलि सेवाग्राही आएर सामान माग्दा के जवाफ दिने सोच्न सकेको छैन’, उनले भने, ‘यसको जिम्मेवारी कसले लिन्छ, मैले जवाफ पाउनुपर्छ ।’
प्रहरीको सुरक्षा चुक
मोबाइल पसलमा भएको लुट आन्दोलनका नाममा भएको अराजकताको सबैभन्दा खराब परिदृश्य त हुँदै हो । सँगसँगै यो प्रकरणले प्रहरीबाट भएको सुरक्षा चुकलाई पनि सतहमा ल्याएको छ ।
ल्होत्से हलभित्र प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुर जिसी व्यवसायीहरुसँग सहमति गरिरहेका थिए । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई लगायत व्यवसायीसँग कुरा गरेर उनी बाहिर लाग्दा माइक्रो व्यवसायीले अवरोध गरे ।
माइक्रो व्यवसायीले सहमतिप्रति विरोध जनाएपछि जिसीले फेरि राजकुमार खत्री, सुनिल प्रजापति, राजन ढकाल लगायत व्यवसायीसँग छलफल गरे । उनीहरुसँग पनि सहमति गरेर हलबाट बाहिर निस्किन खोज्दा हिँड्न सक्ने अवस्था थिएन । प्रहरीको गाडीमा ढुंगा हानाहान भइसकेको थियो । अरुतिर तोडफोड र आगजनी भइरहेको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार भिडबाट गएको एउटा जत्था ल्होत्से हलभित्र पसेर मोबाइल पसलको सटर खोलेको थियो । पसल ल्होत्से हलभित्रै भएकाले भिडको निशानामा परेको थियो ।
पसलमाथि विभिन्न व्यक्तिको हुल गएर लुट मच्चाइरहँदा त्यहाँ प्रहरी अधिकारीहरुको उपस्थिति देखिँदैन । काठमाडौं प्रहरीका अनुसार अनुसार त्यसबेला सुरक्षाकर्मीहरु चोकबाट गाडी हटाउन व्यस्त थिए ।
प्रत्यक्षदर्शीहरुले खिचेको मोबाइल लुटपाट गरिँदै गरेको फोटो तथा भिडियोहरुमा प्रहरी देखिँदैनन् । बरु सुरक्षागार्डले चोरीमा संलग्न चार जनालाई समातेर प्रहरी वृत्त, महाराजगञ्जको जिम्मा लगाएका छन् ।
यो सबै परिस्थिति हेर्दा प्रहरीले बाहिर के भइरहेको छ भन्ने भेउ नै पाउन नसकेको देखिएको जानकारहरु बताउँछन् । ल्होत्से हलभित्र विरोध हुँदा रिसमा एउटा टोली बाहिर गएको थियो । छिटपुटरुपमा तनाव सुरु भइसकेको थियो । तर, प्रहरीले लाठी चार्जसम्म गर्न सकेन । अन्तिममा अश्रुग्याँस प्रहार गर्यो । त्यो पनि प्रभावकारी हुन नसकेको अधिकारीहरु बताउँछन् ।
प्रहरी वृत्त, बालाजुका डीएसपी रविन विष्ट गाडी छाडेर बाहिर निस्किएका थिए । एक जना ड्राइभर र अर्का एक जवान गाडीमा थिए । उनीहरुमाथि ढुंगा प्रहार भएर चोट लागेपछि निस्किएका थिए । त्यसपछि गाडीमा आगजनी भएको थियो ।
सबै परिस्थितिको आँकलन गरेर परिचालन गर्न नसकेको आरोपमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीएसपी मनोजित कुँवरलाई पठाएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ शान्ति सुरक्षा कायम गर्न डीएसपी फेरबदल आवश्यक देखिएकाले यो निर्णय लिइएको बताउँछन् । भिडले कानून जान्दैन भन्ने मान्यता छ । त्यसैले पहिल्यै परिस्थितिको विश्लेषण गरेर पर्याप्त प्रहरी तैनाथ गुर्नपर्ने हो ।
तर, सोमबारको घटनामा त्यसो हुन सकेको देखिँदैन । सशस्त्र प्रहरी बलको टोली पनि परिस्थिति लगभग नियन्त्रण उन्मुख भइसकेपछि घटनास्थलमा पुगेको थियो ।
‘बाहिर हेर्दा पर्याप्त प्रहरी पनि परिचालन गरेर परिस्थितिलाई काबूमा राख्नुपर्ने राज्यको दायित्व सधैँ रहन्छ’, बार एसोसिएसनका पूर्वमहासचिव विजय मिश्र भन्छन्, ‘त्यसैले घटनाबाट पाठ सिकेर भविष्यलाई गल्ती नदोहोर्याउन राज्य लाग्नुपर्छ ।’
काठमाडौं प्रहरीका एक अधिकृत पनि परिस्थितिको मूल्यांकन गर्न चुक हुँदा एक्कासी आन्दोलन नियन्त्रण बाहिर गएपछि झस्किनु पर्ने वातावरण बनेको बताउँछन् । ‘समय परिस्थितिलाई समस्यामा आउन नदिइ काबुमा राख्नुपर्ने हो’, मिश्र पनि थप्छन्, ‘त्यो हिजोको हकमा भएन ।’
नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि यसमा प्रहरीको कमजोरी नभएको भन्न नसकिने बताउँछन् । ‘प्रहरीको दुई गाडी जलाइएको छ, कर्मचारी घाइते भएका छन् । तर, आवश्यक प्रतिकार्य भएको छैन’, मल्ल भन्छन्, ‘प्रहरी भिड नियन्त्रणका लागि किन डराइरहेको छ भन्ने विषयमा समीक्षा गर्नु जरुरी देखिएको छ ।’
हालै सरकारले दिएको निर्देशन पालना गर्दा प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेको समेत स्मरण गराउँदै उनले प्रहरीको मनोबल उकास्ने गरी काम गर्नुपर्ने परिस्थिति देखिएको बताए ।
पूर्वगृहसचिव खेमराज रेग्मी यो घटनमा नेपाल प्रहरी मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् पनि दोषी रहेको बताउँछन् ।
‘गृहमन्त्रालय जस्तो संवेदशील ठाउँमा यत्तिका समयसम्म गृहमन्त्री नियुक्त भएका छैनन्, कसैलाई जिम्मा पनि दिइएको छैन’, रेग्मी भन्छन्, ‘प्रधानमन्त्री ५०औं ठाउँमा अध्यक्ष हुन्छन्, अन्य काम पनि उत्तिकै हुन्छन् । यस्तो अवस्थामा मुलुकमा राज्य व्यवस्था र सुशासन कायम गर्ने मन्त्रालयमा लामो समयसम्म नेतृत्व छैन ।’
अरु सामान्य मन्त्रालय जस्तो जसरी पनि चल्छ भन्ने सोच राखेर प्रधानमन्त्रीले यत्तिकै छाडेको जस्तो देखेको उनी बताउँछन् । भन्छन्, ‘सोमबारको जस्तो घटनामा गृह प्रशासनको नेतृत्व र प्रहरी नेतृत्वले आफैं तत्काल निर्णय लिन सक्दैन, राजनीतिक नेतृत्वसँग छलफल गर्नुपर्छ । यस्तो बेला प्रधानमन्त्रीसँगै गृहको पनि जिम्मा हुँदा समन्वय गर्न कठिन हुन्छ ।’
यस्तो अवस्थामा छिनछिनमा राजनीतिक नेतृत्वबाट सल्लाह लिनुपर्नेमा प्रधानमन्त्रीसँग सम्पर्क गरेर वस्तुस्थिति बुझाएर निर्णय लिँदा धेरै ढिला हुने उनी बताउँछन् । रेग्मी भन्छन्, ‘त्यसैले यसमा प्रधानमन्त्रीको पनि गल्ती छ ।’
अर्को पाटोबाट हेर्दा समाजमा संगठित रुपमा जे अपराध गरेपनि कोही कारबाहीमा पर्दैन भन्ने मानसिकता वृद्धि हुँदै गएको देखिएको उनी बताउँछन् । ‘सुशासनको कुरै छाडौं, अराजकता र बेथिति सिर्जना हुने स्थिति देखाइरहेको छ’, उनले भने, ‘चित्त बुझेन भने हड्ताल नारा, जुलुस गर्न पाइन्छ भनेर आगजनी गर्ने र लुट्ने कामलाई राज्यले पश्रय दिनु हुँदैन, राज्यले कडा कारबाही गर्नुपर्छ ।’
युद्धस्थलको झल्को
उपत्यका ट्राफिक प्रहरी कार्यालयले जरिवाना बढाएर १५ सय पुर्याएको, रिङ रोडका अन्य स्थानमा पनि पार्किङ गर्दै आएका गाडीलाई बस पार्कमै राख्नुपर्ने जस्ता नियमको यातायात व्यवसायीले केही सातायता विरोध गरिरहेका थिए । उनीहरुले विरोध गर्नलाई सोमबार सुरुमा बसपार्क नै रोजेका थिए ।
तर, बसपार्कमा विरोध गर्दा यातायात आगमनमा समस्या हुने भन्दै बाहिर कार्यक्रम गर्न भनिएको थियो । त्यसपछि यातायात व्यवसायी ल्होत्से हल पुगेका थिए । यो हलको सञ्चालन गरिरहेको ल्होत्से बहुद्देश्यीय प्रा.लि. त्यही कम्पनी हो, जसलाई काठमाडौं महानगरले नयाँ बसपार्कको निर्माण, सञ्चालन र हस्तान्तरणको जिम्मा दिएको छ । त्यसवापत ल्होत्सेले बसहरुबाट सेवा शूल्क उठाउने गरेको थियो ।
कार्यालयभित्र यातायात मजदुरका नेताहरु र प्रहरी प्रशासनबीच छलफल चलिरहँदा बाहिर आन्दोलनले उग्र रुप लिएको थियो । प्रहरी वृत्त, बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको पिकअप गाडीमा आगजनी भयो । अर्को सरकारी गाडी पनि जलाइयो ।
माछापोखरी अस्थायी प्रहरी बिट र ट्राफिक व्यवस्थापनमा राखिएका डिभाइडर र आइल्याण्डहरुमा पनि क्षति पुग्यो । आन्दोलनका कारण गोंगबु बिसपार्क र माछापोखरी क्षेत्रमा अलपत्र सर्वाधारणले हात उठाउँदै पैदल हिँड्नुपर्ने अवस्था आयो । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीको बुझाइमा यो दृश्यले युद्धस्थलको जस्तै झल्को दिन्थ्यो ।
प्रतिक्रिया 4