
२६ माघ, काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
सोमबार काठमाडौं आएका विदेश सचिव क्वात्रा जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरण, अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) निर्माण जस्ता एजेण्डा लिएर भौतिक पूर्वाधारमन्त्री श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेका थिए ।
स्रोतका अनुसार श्रेष्ठले भने १९५० को सन्धि, सीमा समस्या र नेपाल भारत प्रवुद्व समूहको प्रतिवेदनको विषय उठाएका छन् । नेपाल भारत सम्बन्ध सुमधुर बनाउने हो भने इतिहासले छाडेका मुद्दाहरु हल गर्नुपर्ने भन्दै उनले विदेश सचिव क्वात्रालाई यसका लागि भारत तयार हो कि होइन भनेर प्रश्न गरेका थिए ।
नेपालले सार्वभौम समानता, आपसी हित र आफ्नो राष्ट्रिय स्वार्थमा आँच नपुग्ने गरी भारतीय चासो सम्बोधन गर्ने गरी सम्बन्ध अघि बढाउन चाहेको उनले बताए ।भारतीय राजदूतका रुपमा नेपालमा कार्यरत रहेको समयमा भएको भेटमा पनि आफूले यो मुद्दा उठाएको भन्दै श्रेष्ठले भनेका थिए, ‘यो समस्या सम्बोधन गर्ने हो भने नेपाल भारत सम्बन्ध त्यसै नयाँ चरणमा पुग्छ ।’
मन्त्रालय स्रोतका अनसार उपप्रधानमन्त्री श्रेष्ठले १९५० को सन्धि पुनरावलोकनको विषय उठाउँदा भारतीय विदेश सचिव स्क्वात्राले भने ईपीजीको प्रतिवेदनमा के छ भन्ने तपाईंलाई थाहा छ भनेर प्रश्न गरेका थिए ।
श्रेष्ठले यो गोप्य रहेकाले धेरै विषय थाहा नभएको बताए । तर प्रवुद्व समूहले साझा सहमतिका साथ प्रतिवेदन तयार पारेर दुबै देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेपनि अहिलेसम्म भारतीय प्रधानमन्त्रीले समय नदिएको बताएका थिए ।
भेटवार्तामा सहभागी मन्त्रालयका एक अधिकारी भन्छन्, ‘भारतीय विदेश सचिवले १९५० को सन्धिका सन्दर्भमा भने उहाँले ठोस प्रस्ताव के हो, ल्याउनुस् भन्नुभयो । अरु विषयमा धेरै बहस गर्न चाहनु भएन ।’
बरु आर्थिक समृद्धि भन्दै विषयान्तरको प्रयास गरेका थिए ।
प्रतिक्रिया 4