
३ फागुन, काठमाडौं । दुई बुँदे सहमतिपछि गोटा गन्ती मिटर रिडर्सको आन्दोलन स्थगित भएको छ ।
पुस २९ गतेदेखि ११ सुत्रीय मागसहित विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा धर्ना तथा आमरण अनशन बसेका मिटर रिडर्स र प्राधिकणबीच दुई बुँदे सहमति भएको हो ।
गोटा गन्ती कार्य गरेका जनशक्तिले नियमित रुपमा कार्य गरेको प्रमाणित विवरणका आधारमा उनीहरुको पूर्व निर्धारण भएबमोजिमको पारिश्रमिक सम्बन्धित बजेट केन्द्रबाट नै यथाशीघ्र भुक्तानी हुने व्यवस्था मिलाउने र गोटा गन्तीमा कार्यरत जनशक्तिको निवेदन मागबारे प्राधिकरण सञ्चालक समितिबाट सञ्चालक राजेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिमा पेश गर्ने बारे यसअघि नै सहमति भएको तर विभिन्न चाडपर्व, निर्वाचन लगायतका कारणले सो बैठक बस्न नसकिरहेकोले यस विषयमा ताकेताका लागि उक्त समितिसमक्ष अनुरोध गर्नेसहमति भएको हो ।
सहमति पत्रमा प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशक तुल्सीराम गिरी हस्ताक्षर गरेका छन् भने मिटर रिडर्सका तर्फबाट संर्ष समितिका अध्यक्ष श्यामप्रसाद अधिकारी, सचिव उज्ज्वल झा र पदम बहादुर घिमिरले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर पश्चात गोटा गन्ती मिटर सिडर्सले आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरेको सचिव उज्ज्वल झाले बताए । उनका अनुसार तीनदिनदेखि आमरण अनशन अनशन बसेका रामनाथ महतो र गणेश यादवलाई कार्यकारी निर्देशक सिलवालले जुस खुवाएर अनशन तोडाएका हुन् । सहमतिको बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4