
३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई उपलब्ध गराएको ५० अर्बको रिपो परिपक्व भएसँगै पुनः अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर बढेर साढे ८ प्रतिशत पुगेपछि राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ तरलता पठाउन लागेको छ ।
नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर घटाएपनि बैंकहरुको अन्तर बैंक ब्याजदर भने त्यसभन्दा माथि पुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर ८.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको थियो र नीतिगत दर (रिपो दर) मा नै ओभरनाइट तरलता सुविधा उपलब्ध गराउाँद ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयन हुने राष्ट्र बैंकले दाबी गरेको भएपनि बैंकहरुको अन्तर बैंक ब्याजदर ८.५ प्रतिशत पुगेपछि राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।
राष्ट्र बैंकले १४ पुसमा ४५ दिन अवधिको रिपो मार्फत ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको थियो । उक्त रिपोको म्याद सकिएसँगै बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भई अन्तर बैंक ब्याजदर बढेको हो । सोही कारण बुधबार राष्ट्र बैंकले रिपो मार्फत पुनः १४ दिनको लागि ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।
राष्ट्र बैंकको २ फागुनको तथ्यांक अनुसार बैंकहरुले तरलता व्यवस्थापन गर्न स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत १६ अर्ब ५३ करोड २० लाख रुपैयाँ र ओभरनाइट रिपो माफर्त २ अर्ब ६५ करोड ९० लाख रुपैयाँ तरलता सुविधा प्रयोग गरेका छन् ।
प्रतिक्रिया 4