
३ फागुन, जनकपुरधाम । संसदीय दलको कार्यालयमा अतिथि बोलाउन नदिएको भन्दै नेपाली कांग्रेसले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।
बुधबार प्रदेशसभाको बैठक सुरु हुनासाथ कांग्रेस संसदीय दलका सचेतक कुमारकान्त झाले संसदीय दलमा अतिथि बोलाउन दिने कि नदिने प्रष्ट नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने बताए । लगत्तै कांग्रेसका प्रदेशसभा सदस्यहरु उठेका थिए ।
सभामुख रामचन्द्र मण्डलले बैठक अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस सचेतक झाले मर्यादापालक लगाएर गेटमा अतिथिलाई आउन नदिएको भन्दै उनले आपत्ति जनाए ।
सभामुख मण्डलले यसबारे छुट्टै छलफल गर्न सकिने बताए । प्रदेशसभा बैठकमै पनि छलफल गर्न सकिने उनले बताए । भने, ‘गेष्टलाई बोलाउन पाउने अवसर छ, तर अराजकता गर्ने, समस्या सिर्जना गर्ने, प्रदेशसभामा तोडफोड गर्नेलाई गेष्ट भन्न सकिन्न ।’
‘तीन घण्टादेखि जसले डिस्टर्ब गरेको छ, उसलाई गेस्ट भन्ने कि बिजनेसलाई आएको भन्ने ? विजनेसका लागि आएको छ भने प्रदेशसभाको निर्णयलाई अवहेलना गर्ने व्यक्तिका लागि यो ठाउँ कदापि हुन सक्दैन’ मण्डलले भने ।
कांग्रेस प्रदेशसभा सदस्य रामसरोज यादवले जो सुकैलाई अतिथिका रुपमा बोलाउन सकिने बताए । कसलाई पिटेको हो भनेर प्रष्ट पार्न पनि उनले आग्रह गरे ।
सभाुमख मण्डलले कुन प्रयोजनले बोलाएको प्रष्ट हुनुपर्ने बताए । उनले अघि भने, ‘तपाईंको अतिथि बम लिएर आयो भने छिर्न दिइन्छ कि दिइन्न ?’
कांग्रेस प्रदेशसभा सदस्य जिवछी देवी यावदले त्यसको विरोध गरिन् । ‘यहाँ कोही मान्छे बम लिएर छिर्नु भएको छ ? तपाईं जस्तो गरिमामय पदमा बसेर यो हाउस भित्र बमको कुरा गर्नु हुन्छ’, उनले सभामुखलाई प्रश्न गरिन्, ‘तपाईं जस्तो गरिमामय पदमा बसेको व्यक्तिले बमको कुरा गर्ने कति शोभनीय लाग्छ ?’
लगत्तै कांग्रेस सांसदहरुले प्रदेशसभा चल्न नदिने बताए । सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे ।
अहिले बैठक सुरु भएको छ ।
प्रतिक्रिया 4