+
+

बहुमत सदस्य हुँदाहुँदै गोरखामा मेयरले कार्यपालिका बैठक नराखेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १५:१४

३ फागुन, गोरखा । बुधबार बिहान बोलाइएको गोरखा नगर कार्यपालिकाको बैठक बिना कारण स्थगित गरिएको भन्दै कार्यपालिका सदस्यहरुले आपत्ति जनाएका छन् । बहुमत सदस्य उपस्थित हुदाँ पनि एजेण्डामा प्रवेश नै नगरी बैठक स्थगित गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

पृथ्वी जयन्तीको कार्यक्रमको खर्च अनुमोदन र नपुग १३ लाख रुपैयाँ विनियोजन, संघ र प्रदेशमा सिफारिस गरी पठाउने योजना लगायतका विषयमा छलफल गर्न बुधबार बिहान ८ बजे बैठक बोलाइएको थियो ।

यसअघि माघ २९ गते बोलाइएको बैठक स्थगित गर्दै बुधबारलाई सारिएको हो । बुधबार पनि एजेण्डामा प्रवेश नै नगरी वैठक स्थगित गरिएको भन्दै वडा नम्वर १२ का अध्यक्ष डिलबहादुर थापाले विरोध जनाए ।

‘बैठकमा बहुमत सदस्य उपस्थित थिए’, उनले भने, ‘उपस्थिति पनि उठाइयो तर एजेण्डामा प्रवेश नै नगरी मेयरले बैठक स्थगित गर्नुभयो ।’ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरु उपस्थित नभएको भन्दै बैठक स्थगित गरिएको थापाले बताए । मेयर कृष्ण रानामगर माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । थापा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित वडा नम्वर ११ का अध्यक्ष राम बहादुर खड्का भने समयमै वैठक सुरु नभएपछि आफूहरु घर फर्केको बताउँछन् । ‘बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो, ९:४० सम्म हामी कुरिरह्यौं’, उनले भने, ‘उपमेयर लगायतका केही सदस्यहरु छुट्टै छलफलका लागि कता जानुभयो, धेरै बेरसम्म बैठकमा नआएपछि हामी निस्केका हौ ।’ उपस्थितिमा हाजिरी गरेर आफूहरु निस्केको उनले जानकारी दिए ।

कार्यपालिका सदस्य सावित्रा थापा पुलामीले माओवादी केन्द्रका कार्यपालिका सदस्य उठेर गएपछि मेयरले बैठक स्थगित गरेको बताइन् । ‘यसअघि पनि भनेको समयमा कहिलै बैठक शुरु भएको छैन, आज पनि केही ढिला भएको थियो तर माओवादी केन्द्रका वडाध्यक्षहरु ढिलो भयो भन्दै उठेर जानुभयो, हामी बहुमत सदस्य हुदाँहुदै पनि मेयरले बैठक स्थगित गर्नुभयो,’ उनले भनिन् ।

नेकपा एमालेबाट निर्वाचित वडा नम्वर ३ का अध्यक्ष चुलबहादुर कुवँर बहुमत सदस्य उपस्थित हुँदा पनि मेयरले बैठक नराख्नु गलत भएको बताउँछन् । ‘नियमसंगत रुपमा बहुमत भएपछि बैठक चल्नुपर्थ्यो तर सबैलाई मिलाएर जाम भनेर मेयरले स्थगित गर्नुभयो’ उनले भने ।

नगर प्रमुख कृष्ण राना मगरले समयमै सबै सदस्यहरु उपस्थित नभएकाले बैठक स्थगित गर्नुपरेको बताए । केही सदस्यहरु ढिला गरी आएकाले आजलाई स्थगित गरिएको उनले जानकारी दिए ।

हाल गोरखा नगरपालिकामा २५ नगर कार्यपालिका सदस्य छन् । मेयर राना माओवादी केन्द्र निकट हुन् भने उपमेयर कांग्रेस निकट हुन् । कुल १४ वडामध्ये माओवादी केन्द्रले ५, एमालेले दुई, स्वतन्त्र उम्मेदवार एक र बाँकी वडा नेपाली कांग्रेसले जितेको छ । माओवादी केन्द्रका वडाध्यक्षहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?