+

युरिक एसिड भएकाले कस्ता खानेकुरा खानै हुन्न ?

२०७९ फागुन  ३ गते १८:१९ २०७९ फागुन ३ गते १८:१९
युरिक एसिड भएकाले कस्ता खानेकुरा खानै हुन्न ?

काठमाडौं । जोर्नी तथा हड्डी दुखाइको समस्याले प्रायः मानिसलाई सताइरहेको हुन्छ । कहिलेकाहीं यसको कारण अत्यधिक थकान वा हड्डी कमजोर भएर हुन्छ । तर यो समस्या बारम्बार दोहोरिन्छ भने त्यसको कारण शरीरमा युरिक एसिडको मात्रा बढेर पनि हुन सक्छ  ।

युरिक एसिड हाम्रो शरीरमा पाइने प्राकृतिक रसायन हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्त्वलाई युरिक एसिड भनिने बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी बताउँछिन्  ।

‘न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । मिर्गौलाले युरिक एसिडलाई फिल्टर गर्ने काम गर्छ, त्यसपछि यो पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ,’ उनी भन्छिन्, ‘जब मिर्गौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ ।’

मिर्गौला युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । जसकारण धेरै किसिमका समस्या आउन थाल्छन् ।

के कारण हुन्छ युरिक एसिड ? 

हामीले खाएको सामान्य खानालाई मिर्गौलाले छान्न नसकेर युरिक एसिड हुन्छ । यस्तो समस्या वंशाणुगत कारणले हुने नकर्मी बताउँछन् । ‘शरीरमा युरिक एसिडको उत्पादन बढी भएर युरिक एसिडको समस्या निम्तिन्छ,’ उनी भन्छिन् ।

ट्युमर, रगतको क्यान्सर, टीभीको औषधिको सेवन गर्दा, रक्सीको सेवनले र धेरै प्युरिन भएका खानेकुरा रातो मासु, बट्टामा प्याक भएको खाना खाँदा पनि शरीरमा युरिक एसिड बढेर समस्या निम्तिने नकर्मी बताउँछिन् ।

युरिक एसिड लामो समयसम्म जम्मा भइरह्यो भने ‘गठिया’ जोर्नी सुन्निने समस्या हुन्छ । नकर्मी भन्छिन्, ‘जोर्नीहरू अचानक रातो भए सुन्निने दुख्ने हुन्छ । बिस्तारै जोर्नीहरू कमजोर हुने हड्डी खिइने  समस्या देखिन्छ । त्यसपछि छालाको मुनि सेतो सेतो दाना जस्तो भएर जम्मा हुन्छ ।’

युरिक एसिड मिर्गौलामा जम्मा भयो भने पत्थरी हुने र मिर्गौला नै खराब हुन सक्छ । यसले मुटुको भल्बहरूमा समस्या पनि निम्त्याउन सक्ने उनी बताउँछिन् ।

युरिक एसिडको संकेत 

जोर्नी दुख्ने, जोर्नी सुन्निने, रातो हुने, जोर्नी चलाउन नसकिने, मिर्गौलामा पत्थरी र बिहान उठ्ने बेलामा दुखाइ धेरै हुने युरिक एसिडका संकेत हुन् । युरिक एसिडको समस्या ४० वर्षको उमेरपछि पुरुषहरूमा बढी देखापर्छ । महिलामा चाहिं महिनावारी सुकेपछि यो समस्या बढी देखिन्छ ।

‘तर युवाहरूमा पनि यो समस्या बढ्दै गएको छ,’ नकर्मी भन्छिन्, ‘अहिलेको खानपान र जीवनशैलीले उच्च रक्तचाप, मधुमेहजस्तै युरिक एसिडको समस्या पनि बढाएको छ ।’

युरिक एसिड भएकाले कस्ता खानेकुरा खानै हुन्न ?

युरिक एसिड भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ । मासु खाँदा जनावरको भित्री अंग कलेजो, फोक्सो, गिदी, आन्द्रा खानै नहुने नकर्मी सुझाउँछिन् । प्युरिन बढी भएका खानेकुरा, रातो मासु, बट्टामा प्याक भएको पेय पदार्थ, सामुन्द्रिक माछा, नुन र चिनी बढी प्रयोग भएका जंकफुडबाट सकेसम्म टाढा रहनुपर्छ ।

‘गेडागुडी, अमिलो खानेकुरा बार्नु पर्दैन । गेडागुडी अमिलो दही खानै हुन्न भन्नु भ्रम मात्र हो,’ नकर्मी भन्छिन्, ‘दूध, फलफूल, हरियो तरकारी, दही र सलाद खान हुन्छ । प्रशस्त पानी पनि पिउनुपर्छ ।’

युरिक एसिड भएका व्यक्तिले रातो मासु भने कम गर्नुपर्छ । त्यसको साटो कुखुराको मासु, माछा खान मिल्छ । अण्डा, दूध, माछा, गेडागुडीमा राम्रो प्रोटिनको मात्रा मिल्ने नकर्मी बताउँछिन् । ‘साथै हरियो सागपात फलफूललगायत खानेकुरा खाँदा पोषणको अभाव हुने त कुरै भएन,’ नकर्मी भन्छिन् ।

नियमित व्यायाम गर्ने, स्वास्थ्य खानपान र जीवनशैली अपनाएमा युरिक एसिड हुने सम्भावना कम हुने नकर्मी बताउँछिन् ।

खानेकुरा युरिक एसिड
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?