
३ फागुन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी १ वैशाखमा सुरु हुने शैक्षिक सत्रको सुरुमै विद्यार्थीले पाठ्यपुस्तक पाउने दाबी गरेको छ । केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाका अनुसार १५ चैतभित्र पाठ्यपुस्तक छपाइ सकेर वितरकलाई दिइने बताए ।
सरकारले यसवर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० सम्मको र निजी प्रकाशकलाई १ देखि ५ सम्मको पुस्तक छफाइ गर्न दिएको थियो । त्यसका लागि १३ वटा प्रकाशक छनोट गरिएको छ ।
सूचना अधिकारी ढुंगाना भन्छन्, ‘समयमा पाठ्यपुस्तक पुर्याउनकै लागि यो निजीसँग साझेदारी गरिएको हो । त्यसैले आगामी शैक्षिक सत्रमा सबै कक्षाका बालबालिकाले शैक्षिक सत्र सुरू हुनअघि पुस्तक पाउँछन् ।’ केही पहाडी जिल्लामा वितरकको लापरबाहीले पाठ्यपुस्तक पुग्न ढिलाइ हुन सक्ने जोखिम भने रहेको ढुंगाना बताउँछन् ।
कक्षा १-५ को एक करोड २० लाख थान र कक्षा ६–१० को एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ । जनक शिक्षा सामग्री केन्द्रले ८० लाख थान पुस्तक छपाइ सकेर बाइन्डिङसमेत भइसकेको र १० लाख थानको बाइन्डिङ भइरहेको केन्द्रले जनाएको छ । छपाइ गर्न बाँकी ६० लाखको दैनिक डेढ लाखको दरले भइरहेको र १५ चैतभित्र सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
बाइन्डिङ भइसकेका पुस्तकहरु विराटनगर, धनगढीलगायतका प्रादेशिक कार्यालयहरु ढुवानी सुरू भइसकेको उनले जानकारी दिए । ‘हामीले पुस्तकहरु ढुवानी सुरू गरिसकेका छौं । चैत १५ गतेदेखि विक्रेताले लगेर विक्री सुरू गर्छन् । बाँकी पनि समयमा सम्बन्धित विक्रेता कहाँ पुगिसक्छ’ झाले भने ।
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार कक्षा ८ र १० को सबै किताब नयाँ प्रकाशन गर्नुपर्नेछ ।
प्रतिक्रिया 4