+
+

राष्ट्रपतिबारे प्रचण्ड र ओलीबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १९:१०

४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न ओली बिहीबार विहान बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे छलफल भएपनि कुनै सहमति नभएको नेताहरुले बताएका छन् ।

एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिएका थिए ।

सरकार गठन गर्दा एक खालको सहमति भएपनि आफूले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेस समेत संसदका अधिकांश दलले समर्थन गरेकाले राष्ट्रिय सहमति खोज्नुपर्ने उनको जोड थियो । माओवादीले स्थायी समिति बैठकबाटै राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष ओलीले भने १० पुसमा भएको सहमति अनुसार अघि बढ्नुपर्ने बताएका थिए । कांग्रेसले दिएको समर्थन देखावटी भएको भन्दै उनले सरकार गठनका क्रममा जे सहमति भएको थियो, त्यसअनुसार अघि बढ्नुपर्ने बताएको एक नेताले सुनाए ।

‘हामीले राष्ट्रिय सहमति खोजौं भनिरहेका छौं,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘उहाँहरुले हामीले दिने नाममै सहमति जुटाउनुपर्छ भनिरहनु भएको छ । आजको छलफलमा पनि कुनै सहमति भएको छैन ।’

राष्ट्रिय सहमति खोज्ने समझदारी भए मात्र कसको नेतृत्वमा भनेर व्यक्तिमा प्रवेश हुने उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?