
काठमाडौं । सन् २०२२ मा ‘धमाका’ र ‘भूलभुलैया’ जस्ता हिट फिल्म दिएका बलिउड अभिनेता कार्तिक आर्यन यो वर्षको सुरुवात फिल्म ‘शहजादा’बाट गर्दैछन् । फिल्ममा कार्तिक आफ्नो ‘सिग्नेचर’ शैलीका साथ एक्सन अवतारमा देखिंदैछन् ।
उनले यसअघि कहिल्यै पनि एक्सन भूमिका नगरेकाले शहजादालाई लिएर उनी उत्साहित छन् । बलिउड हंगामा पोर्टलालाई दिएको अन्तर्वार्तामा कार्तिकले आफू एक्सन फिल्म गर्न चाहने तर यसमै सीमित भएर भने नबस्ने बताएका छन् । उनी भिन्न-भिन्न भूमिकाका साथ अभिनय यात्रा तय गर्न चाहन्छन् ।
उनले भनेका छन्, ‘म धेरैभन्दा धेरै एक्सन फिल्म गर्न चाहन्छु, तर पूरै तरिकाले एक्सन हिरो बनिरहन भने चाहन्नँ । मलाई रोमान्टिक र कमेडी फिल्म गर्न ज्यादै मन पर्छ । यद्यपि शहजादा एक्सनमा जबर्जस्त सुरुवात हो । किनकि यसअघि मेरो एक्सन फिल्म कम र पारिवारिक मनोरञ्जनात्मक फिल्म बढी छ । म अब अलग-अलग शैलीमा यात्रा गर्न चाहन्छु । ’
यही फेब्रुअरी १७ देखि प्रदर्शनमा आउन लागेको शहजादामा कार्तिकका साथै कृति सेनन, परेश रावल र मनिषा कोइराला पनि मुख्य भूमिकामा छन् । फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन् ।
कार्तिकका अन्य फिल्मको कुरा गर्दा उनी कियारा आडवाणीका साथ सत्यप्रेमको कथामा काम गर्दैछन् । यसैगरी कार्तिकको ‘क्याप्टर इण्डिया’मा पनि देखिंदैछन् ।
प्रतिक्रिया 4