
४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा शिक्षा अध्ययनदेखि पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर ८ विषयमा छात्रवृत्ति दिनका लागि कार्यविधि बनाएको छ ।
महानगरको छात्रवृत्ति कार्यविधि अनुसार एमबीबीएस कार्यक्रम, इन्जिनियरिङ, वातावरण विज्ञान, शिक्षा, कानुन, व्यवस्थापन, भाषा/साहित्य/समाजशास्त्र र पत्रकारिताको विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने छ ।
छात्रवृत्ति माग गर्ने छात्र/छात्रा महानगरबासी हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार छात्रवृत्ति माग गर्ने छात्र/छात्राको परिवारको आर्थिक अवस्था विपन्न भई शैक्षिक संस्थालाई बुझाउनुपर्ने शुल्क बुझाउन नसक्ने हुनुपर्ने छ ।
छात्रवृत्ति सिफारिस गर्न महानगरपालिकामा एक छात्रवृत्ति समिति रहनेछ । सामाजिक समितिका संयोजक हुनेगरी ४ जना महानगरका कर्मचारीहरुको समिति गठन हुने उल्लेख छ ।
महानगरले छात्रवृत्तिको रकम निर्धारण गर्दा शैक्षिक कार्यक्रमको आधारमा एकमुष्ट, वर्षैपिच्छे बुझाउने किस्ता रकम वा शैक्षिक कार्यक्रमले निर्धारण गरेबमोजिम हुन सक्ने कार्यविधिमा रहेको छ । छात्रवृत्तिको रकम पाउने छात्र/छात्राको नाममा वा सम्बन्धित शैक्षिक संस्थाको खातामा जम्मा गरिदिन सक्ने व्यवस्था महानगरले गरेको छ ।
महानगरपलिकाबाट छात्रवृत्ति प्राप्त गरी अध्ययन गरेका छात्र/छात्राले स्वयम्सेवक वा इन्टर्नको रूपमा महानगरपालिकामा सेवा गर्न चाहेमा सेवा गर्ने उपयुक्त प्रबन्ध गरिने समेत कार्यविधिमा उल्लेख छ । छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने छात्र/छात्राले वार्षिक रूपमा आफूले प्राप्त गरेको शैक्षिक प्रगति प्रतिवेदन महानगरपालिकामा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया 4