+
+

‘म ज्युँदो बुवाको विधवा आमाको कान्छो सन्तान’

सुरज पण्डित सुरज पण्डित
२०७९ फागुन ५ गते १९:३३

सुरज पण्डित चर्चित गीत ‘रेलको बाटो’का गायक तथा संगीतकार हुन् । २०६८ सालदेखि गायन क्षेत्रमा सक्रिय चन्दननाथ नगरपालिका-४, मालाभिड जुम्लाका उनले ‘माया गर्ने जीवनसाथी’, ‘ए मेरी टुल्की नलाइ बाडुल्की’, ‘तम्रा मनमा’ लगायत दुई दर्जनभन्दा बढी चर्चित गीत गाएका छन् । कर्णाली उत्सवको चौथो संस्करण अन्तर्गत शुक्रबारको सत्रमा पण्डितले सुनाएको आफ्नो कथा :

दुई आमामध्ये जेठीको कान्छो छोरा हुँ म । म दुई वर्षको हुँदा बाबाले छुट्याएर राख्नुभएको आमाले सुनाउनुहुन्थ्यो । हामी बस्ने घरको आटीमा पानी चुहिन्थ्यो । आमाले छानो टालिरहनुहुन्थ्यो । कहिलेकाहीं हामी बिहान उठ्दा आमा गीत गाइरहनुभएको हुन्थ्यो । बारीमा मकै खान भालु आउँदा काखमा तीनवटा बच्चा च्यापेर आमा रोएको म कहिल्यै बिर्सन सक्दिनँ । यो कुरा सुन्दा बुवालाई दुःख लाग्ला, तर छोराले वास्तविकता सुनाइरहेको छ, मलाई माफ गर्नुहोला ।

घरमा चामलको भात खाने पालो हप्तामा एकदिन मात्र आउँथ्यो । खाद्य संस्थानले हप्तामा एकपटक बाँड्ने १० किलो चामल लिने हैसियत मेरी आमासँग थिएन । हामी मकै र जौको भात खान्थ्यौं । यसरी आमाले देखाएको बाटो हिंडेर आज यहाँ आइपुगेको सम्झँदा मलाई खुसी लाग्छ ।

बुवाले कर्णाली प्राविधिक शिक्षालयमा क्यान्टिन चलाइरहेको बेला म कर्णाली माविमा कक्षा ६ मा पढ्थें । कापी र कलम किनिदिनुस् भन्दा उहाँले ‘व्यापार भएको छैन अर्काे हप्ता आ’ भनेर पठाउनुभयो । उहाँले महिनाको सय रुपैयाँ फि पनि तिरिदिन नमानेपछि रत्न चण्डेश्वर उच्च माविमा भर्ना हुन गएँ । मलाई ज्युँदो श्रीमान्को विधवा आमाको छोरा हुँ भन्ने लाग्न थाल्यो ।

त्यसबेला ढुंगा फुटाएर ट्याक्टरवालालाई बेचेर वाकमेन, दुईजोर ब्याट्री र नारायणगोपालको गीति क्यासेट ‘श्रद्धाञ्जली भाग–२’ किनें । मैले पहिलो पटक सुनेको नारायणगोपालको गीत ‘लौ सुन म भन्छु मेरो रामकहानी…’ हो । त्यसपछि नै गीत–संगीतप्रति मोह बढ्न थाल्यो । त्यतिखेर टेलिभिजनमा नेपाली तारा कार्यक्रम आउँथ्यो, हामीसँग टिभी थिएन । त्यही कार्यक्रम हेर्न छिमेकको घरमा जाँदा भित्र पस्न नदिएपछि मैले फेरि गिटी कुटेर १२ इन्चको ब्ल्याक एण्ड ह्वाइट टिभी किनें ।

एक दिन दिउँसो स्कुलमा हाफ टाइम चलिरहेको थियो । म चाहिं कक्षाकोठाभित्र बसेर गीत गाइरहेको रहेछु, पूर्णप्रसाद धिताल सरले सुन्नुभएछ । उहाँले फेरि गाउन लगाउनुभयो । त्यसपछि स्कुलको वार्षिकोत्सवमा गीत गाएँ । मेरो लागि त्यो पहिलो स्टेज थियो र धिताल सर मेरा पहिलो संगीत गुरु । त्यसपछि ममा स्टेजमोह जाग्न थाल्यो ।

त्यसैबीच, नेपालगञ्जमा भएको मध्यपश्चिमाञ्चलस्तरीय खेलकुद प्रतियोगिताको दौडमा मैले स्वर्णपदक जितें । धनगढीमा भएको राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा भने बिरामी भएर जित्न सकिनँ अनि खेलाडी बन्ने सपनालाई त्यहीं रोकें ।

२०६८ सालमा जुम्लामा ‘पदम रोकाया एकल साँझ’ भयो । एक अवसर दिनुस् भनेर मैले पनि गाएँ । राजधानीबाट आएका कलाकारभन्दा मेरो प्रस्तुतिले मान्छेको मन छोएछ । रोकायाले एउटा गीत रेकर्ड गर्न दिन्छु काठमाडौं आउ भन्नुभयो । मैले ३५ हजार लगानीमा ‘माया गर्ने जीवनसाथी’ रेकर्ड गरें । त्यसबाट आर्थिक मुनाफा हुन नसके पनि मेरो सांगीतिक यात्राले गति पायो ।

पहिलो गीत चलेपछि संगीतप्रति मेरो झुकाव झन् बढ्यो, तर काठमाडौंमा बसिरहने अवस्था थिएन । जुम्ला फर्किन खोजिरहेको बेला साथी खड्कजित रोकायासँग भेट भयो । उनले रमेश भण्डारी दाइसँग सुरजलाई काठमाडौंमै अडिनसक्ने वातावरण मिलाइदिन आग्रह गरेछन् । उहाँले जागिर खोजौंला भन्नुभयो, तर पर्खेर बस्न सक्ने अवस्थामा म थिइनँ ।

एक दिन धार्मिक स्थलहरू ठाकुरज्यू र विष्टज्यू गएर मलाई काठमाडौं जाने अवसर जुटाइदिनुस् भनेर फर्किंदै थिएँ, बाटोमै रमेश दाइको फोन आयो । उहाँले काम मिल्यो काठमाडौं आऊ भन्नुभयो । अनि आएर सडक डिभिजन कार्यालयमा काम गर्न थालें । तलब एकैपटक चार महिनामा पाइन्थ्यो । बीचमा कोठाभाडा तिर्ने कसरी, संगीत क्लास जाने कसरी भन्ने चिन्ताले पिरोल्थ्यो ।

२०७६ फागुन २८ गते बिहान संगीत साधना गरिरहेको बेला एउटा धुन निस्कियो । त्यो बेला शहरमा रेलको खूब चर्चा थियो । काठमाडौंमा रेलको चर्चा भइरहँदा कर्णालीको सडक चर्चाविहीन थियो । त्यो कुराले मलाई पिरोल्थ्यो, भोगाइ झलझल्ती आँखामा आउँथ्यो ।

अनि ‘रेलको बाटो बन्दैछ रे रेल चढौंला नेपालैमा, हुम्ला मोटरबाटो छैन के चढौंला हिमालैमा’ भन्ने गीतको खाका लेखेर साथी लेखराज गिरीलाई पठाएँ । उहाँले चैत १ गते गीत पूरा गरेर पठाउनुभयो । त्यसरी ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा, हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा’ भन्ने गीत तयार भयो ।

अहिले मलाई लाग्छ संसारमा सबभन्दा ठूलो इच्छाशक्ति हो । इच्छाशक्ति भयो भने एक दिन पक्कै सफल भइन्छ । न भूगोलले छेक्छ न त गरिबीले रोक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?