
काठमाडौं । षट्कोण आर्टस्को आगामी फिल्म ‘महाजात्रा’ तिहारमा रिलिज हुने भएको छ । सन् २०१६ मा रिलिज भएको जात्रा र सन् २०१९ को जात्रैजात्राको अर्को शृंखला यो फिल्मलाई तिहारमा रिलिज गरिने तय भएको निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अनलाइनखबरलाई बताए ।
अहिले पटकथा लेखनको चरणमा कार्य भइरहेको र फिल्ममा केही कलाकार हेरफेर पनि हुन सक्ने संकेत उनले गरे । षट्कोणलै हालैको व्यावसायिक सफल फिल्म ‘महापुरुष’ लगत्तै ‘महाजात्रा’ बनाउने घोषणा गरेको गरेको थियो । केही सातामा फिल्मको औपचारिक घोषणा गर्ने तयारी भइरहेको बानियाँले जानकारी दिए । केही कलाकार हेरफेर हुन सक्ने सम्भावना उनले औंल्याए । फिल्मको छायांकनको तयारी भएको उनले बताए ।
जात्रैजात्रामा विपिन कार्की, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, वर्षा राउत र रविन्द्र झा शीर्ष भूमिकामा थिए । महाजात्रा फिल्म चलचित्र विकास बोर्डमा दर्ता गर्दा ‘महापुरुष’ डेब्यु अभिनेत्री अञ्जना बराइलीको पनि नाम रहेकाले उनी पनि फिल्ममा हुन सक्ने सम्भावना बलियो छ । यद्यपि, निर्माता बानियाँले यसबारे निधो भइनसकेको बताए ।
यसैबीच, विश्वचर्चित बौद्ध धर्मगुरु खिन्से नोर्बु निर्देशित फिल्म ‘डाकिनी’को प्रदर्शन मिति पनि ‘महापुरुष’को औपचारिक घोषणाको पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी छ । यो फिल्मको निर्मातामा रविन्द्रसिंह र दिपेश म्याक्स खत्री छन् । छिरिङतासी ग्यालेन्जेन, टल्कु कुञ्जोङ, तेन्जिङ कुन्सेल र नवाङ तेन्जिङ यो फिल्मको शीर्ष भूमिकामा छन् ।
फिल्मलाई एक साताको सीमित समयको लागि मात्र मल्टिप्लेक्समा देखाउने तयारी छ ।
प्रतिक्रिया 4