
८ फागुन, काठमाडौं । विराटनगर सुपर किङ्ग्सका कप्तान एन्ड्री म्याक्यार्थीले स्पट फिक्सिङका लागि कोच निर्णय समेत नमानेको पाइएको छ ।
१६ पुसमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्सबीच खे्ल भएको थियो । त्यसमा कोच लिन्डेन फेजरले ओपनिङ ब्याट्स म्यानका रुपमा प्रदीप ऐरी र गौरान्सु शर्मालाई पठाउने गरेका थिए ।
तर, अन्तिममा टिम म्यानेजर राहुल शर्माको निर्देशन अनुसार ऐरीको स्थानमा क्याप्टेन एन्ड्री ओपनरका रुपमा गएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रशिक्षक फेजरले आफ्नो निर्णय विपरीत एन्डी ओपनिङ ब्याट्सम्यानका रुपमा गएर सन्तोषजनक रुपमा खेल प्रदर्शन नगरेको त्यसबेलै सञ्चारमाध्यममा बताएका थिए ।
यसबाट पनि एन्ड्री बाजी जिताउने वा हराउने कार्यमा संलग्न भएको देखिने प्रहरीको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसबारे थाहा पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एन्टी करप्सन अफिसर वीर सिंहले नेपाल क्रिकेट संघलाई जानकारी गराएका थिए ।
त्यसपछि दुवैलाई जिम्मेवारीबाट हटाएर खेलमा सहभागी हुन रोक लगाइएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रहरीसमक्ष कागज गरेका छन् । हाल उनले क्यानबाट राजीनामा दिइसकेका छन् ।
स्पट फिक्सिङमा संलग्न ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । तर, त्यसमा एन्ड्री र राहुल शर्मा परेका छैनन् । दुवैको नाम अभियोग पत्रमा उल्लेख भने गरिएको छ । जिल्ला न्यायाधीवक्ता अच्युतमणि नेउपाने भन्छन्, ‘उनीहरुको ठेगाना स्पष्ट नखुलेकाले पछि पक्राउ परे वा वतन खुले फेरि अभियोग पत्र बुझाउने गरी मुद्दा दर्ता गराएका छौं ।’
प्रतिक्रिया 4