+
+
सन्दर्भ- अन्तर्राष्ट्रिय मातृभाषा दिवस :

क्षेत्रीय भाषा र मातृभाषाको उन्मुक्तिको प्रश्न

मानिसले स्थान, समय र प्रयोजनका आधारमा मातृभाषा, क्षेत्रीय भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्दछन् । मातृभाषाले जीवन र जातिको, क्षेत्रीय भाषाले संस्कृति र पहिचानको, राष्ट्रिय भाषाले राष्ट्रियता र स्वाभिमानको तथा अन्तर्राष्ट्रिय भाषाले विकास र लौकिकताको रक्षा गर्दछ । अन्तर्राष्ट्रिय र राष्ट्रिय भाषाको व्यापकतामाथि कुनै पनि प्रश्न छैन तर क्षेत्रीय भाषा र मातृभाषाको उन्मुक्ति कसरी सम्भव हुन्छ भन्ने प्रश्न अवश्य छ ।

अजयकुमार झा अजयकुमार झा
२०७९ फागुन ९ गते ८:१८

मानिसले जीवनमा हुर्कंदै सिक्ने एक मात्र पहिलो भाषा हो, मातृभाषा । यसलाई आमाको काखमा सिकिने भाषा पनि भनिन्छ । मातृभाषाले नै सबैभन्दा पहिले मानिसलाई सोच्ने–बुझ्ने र व्यवहार गर्ने अनौपचारिक शिक्षा र समझ प्रदान गर्दछ ।

नेपालको संविधानले राष्ट्रभाषा र सरकारी कामकाजको भाषा गरी दुई प्रकारको भाषा भनी उल्लेख गरेको छ, जसमा राष्ट्रभाषा भन्दै गर्दा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भनी भनिएको देखिन्छ । यसैगरी सरकारी कामकाजको भाषाको हकमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने संवैधानिक व्यवस्था छ ।

नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था छ । त्यस्तै भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकअन्तर्गत प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने र आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वद्र्धन र संरक्षण गर्ने संवैधानिक हक प्रदान गरिएको छ ।

संविधानले, राज्यले बहुभाषिक नीति अवलम्बन गर्दै विभिन्न भाषाको बीचमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने गरी राज्यलाई निर्देशित गरेको छ । नेपालभित्रका भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गरी यसको सम्वद्र्धन, विकास गर्न र सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार तयार गरी सिफारिस गर्न भाषा आयोग गठन गर्ने व्यवस्था गरेको छ । भाषा आयोगको स्थापना भए पनि आयोगले सिफारिश गरी नसक्दा नेपालको मातृभाषा, सरकारी कामकाजको भाषा र बहुभाषिक नीति यतिबेला राष्ट्रिय बहसको विषय रही आएको छ ।

मानिसले जीवनमा सिक्ने पहिलो भाषा उसको मातृभाषा हो । शैशवावस्थामा हुर्कंदै सिकिने एक मात्र भाषा मातृभाषा हो । यसलाई आमाको काखमा सिकिने भाषा पनि भनिन्छ । आमाको आँचलमा पल्लवित भएको भाषाले बालकलाई उसको मानसिक विकासमा शब्द वा पहिलो सम्प्रेषण दिने गर्दछ । मातृभाषाले नै सबैभन्दा पहिले मानिसलाई सोच्ने–बुझ्ने र व्यवहार गर्ने अनौपचारिक शिक्षा र समझ प्रदान गर्दछ ।

अजयकुमार झा

वि.सं. २०६८ को जनगणना तथ्यांक अनुसार नेपालमा बोलिने मातृभाषाको संख्या १२३ रहेको देखिन्छ । भाषा आयोगको पछिल्लो प्रतिवेदनबाट आठ वटा मातृभाषा थपिएका छन् । तर आयोगले ती भाषाहरू विस्तृत रूपमा अध्ययन गरी नयाँ जनगणनाबाट प्रमाणित गरिनुपर्ने आवश्यकता देखाएको छ । अघिल्लो जनगणनामा देखिएका भाषाभाषीको बाँडफाँट पुनः प्रमाणीकरण गर्नुपर्ने जनाइएको छ । आयोगको तथ्याङ्कमा कुल ७५३ स्थानीय तहमा रहेको जात र बोल्ने भाषाको विवरण दिइएको छ । तर आयोगले उपलब्ध भाषिक तथ्याङ्कलाई तत्काल प्रमाणित र यसलाई सम्बोधन गर्न नेपालका भाषाहरूको छुट्टै सर्वेक्षण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । यता मातृभाषी समूहले आयोगको उक्त भाषिक तथ्यांकमाथि प्रश्न उठाएका छन् र गत वर्ष सम्पन्न जनगणनाको तत्सम्बन्धी विवरण प्रकाशमा आई नसकेको अवस्था छ । यसरी हेर्दा संविधानले कतिपय कुरा सुनिश्चित गरे पनि मातृभाषा अधिकारको प्रश्न वि.सं. २०७२ अघिकै अवस्थामा छ । यसबाट भाषा आयोगले आफ्नो महत्वपूर्ण ६ वर्ष के गरी व्यतीत गर्यो भन्ने प्रश्न पनि उठेको छ ।

अभिलेख, दर्ता, प्रसारण, पत्राचार, प्रस्तुति, अभिव्यक्ति, प्रकाशन, अध्ययन, अध्यापन र लोकसेवा आयोगको परीक्षाका माध्यममा मातृभाषाको बेवास्ता यथावत् छ । शिक्षा, स्वास्थ्य, सार्वजनिक प्रशासन, आमसञ्चार, यातायात, कृषि, निर्माण, विकास, विज्ञान तथा प्रविधि जस्ता प्रमाणीकरण र सेवा प्रवाहका क्षेत्रमा मातृभाषाको प्रचलन हुनसकेको छैन । प्रदेशले तोकेको प्रदेशको सरकारी कामकाजको भाषाको प्रयोग संविधानको व्यवस्थाअनुरूप दिवास्वप्न भएको छ ।

संविधानको धारा ७ (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रिय भाषालाई प्रदेशको कामकाजको भाषाको रूपमा राज्यको कानुन बमोजिम निर्धारण गर्न सक्नेछ । भाषिक रूपान्तरणको यज्ञ प्रारम्भ नहुँदा नेपाली भाषाको प्रयोग यथावत् छ । यसको पछाडि नियोजित षड्यन्त्रको गन्ध आइरहेको अनुभूति भइरहेको छ ।

समाजका सांस्कृतिक मूल्यको विरासतको संरक्षण गर्ने कार्य पनि मातृभाषाले नै गर्दछ । अविकसित देशहरूमा भाषाप्रति अनेक प्रकारका भ्रम फैलिएका हुन्छन्, जसमा एक अत्यन्त महत्वपूर्ण भ्रम यो हुन्छ कि अमूक भाषा विकासको भाषा हो ।

एक अर्को दृश्यमा नेपाली भाषा बचाउन विभिन्न अभियान भएका छन् । ती अभियानमा लागेकाहरूले नेपाली भाषामाथि प्रहार भएको आरोप लगाइरहेका छन् । उनीहरूले कक्षा ११ र १२ मा १०० पूर्णांकको अनिवार्य नेपालीका साथै ऐच्छिक विषयमा पनि नेपाली राखे मात्रै नेपाली भाषाको विकासमा टेवा पुग्ने मत पेश गर्दै आएका छन् । उनीहरूले एक भाषा नीतिलाई कडाइका साथ अवलम्बन गरेका देशहरूको उदाहरण दिइरहेका छन् ।

मातृभाषाको सन्दर्भमा केही विद्वानहरूको मान्यता छ कि आमाको भाषा नै मातृभाषा हो । तर यो पूर्ण सत्य भने होइन, आमाको भाषाका साथै बच्चाको शैशव र बाल्यकाल जहाँ व्यतीत हुन्छ, त्यस माहोलमा नै जननी भाव हुन्छ । जुन परिवेशमा बच्चा पालित–पोषित हुन्छ, त्यहाँ जुन भाषा ऊ सिक्दछ, त्यो भाषा त्यस बच्चाको मातृभाषा कहलाउँछ । यहाँ परिवेशको अर्थ परिवार एवं त्यस परिवारको सांस्कृतिक मूल्यसँग रहेको सम्झनुपर्छ ।

विभिन्न मातृ भाषाभाषीले आफ्नो भाषामा एउटा राम्रोसँग निवेदन लेख्न जान्दैनन् । आफ्नो भाषामा एक अनुच्छेद लेखेर प्रस्तुत गर्न शिक्षित नयाँ पुस्ताले जान्दैन । निमन्त्रणा कार्ड, तमसुक, दैनिक व्यावहारिक कागजात लेखनमा मातृभाषाको दैनिक प्रयोगको प्रायोगिक आवश्यक विषय हो । भाव पोख्ने सबैभन्दा सुलभ माध्यम भाषा हो । सबै जाति, संस्कृति, धर्म, परम्पराको सम्बन्ध गाँस्ने सेतु हो । साहित्य, वाङ्मय, शब्दकोश, लिपि, वर्ण, व्याकरण जस्ता भाषा बाँच्न चाहिने पूर्वाधारमा सम्पन्नता र विश्वमा व्यापकता, विश्वव्यापीकरणमा गति लिन भाषाहरू सक्षम हुनु आवश्यक छ । आफ्नो भाषाको महत्व नदिएर नेपाली मोहमा लहसिनु बौद्धिकता वा नैतिकता होइन ।

मातृभाषा नहुने वा नभएको मानिस हुन सक्दैन । कुनै पनि भाषाको आफ्नै महत्व हुने भए पनि मानिसको जीवनमा मातृभाषाको जुन भूमिका हुन्छ, त्यसको तुलना अन्य कुनै भाषासँग गर्न सकिंदैन । मानिसले सपनामा पनि मातृभाषामै कुराकानी गरेका हुन्छन् । अचाक्ली परी ब्युँझिंदा हुने चीत्कार पनि मातृभाषामै रहेको हुन्छ । यसको अर्थ मातृभाषा मानिसको कति नजिक रहेछ भन्ने हो । मातृभाषाले व्यक्तिको वैयक्तिक तथा सामाजिक पहिचान स्थापित गर्दछ । युनेस्कोका अनुसार भाषा केवल सम्पर्क, शिक्षा वा विकासको माध्यम नभएर व्यक्तिको विशिष्ट पहिचान पनि हो । मातृभाषाको महत्वको सन्दर्भमा युनेस्को के भन्दछ भने मातृभाषा ज्ञान, शान्ति, अधिकार, समावेशीकरण एवं विविधता हेतु आवश्यक छ । हरेक भाषा आफूसँग एक यस्तो विशिष्ट ज्ञान परम्पराको संवहन गर्दछ र राष्ट्रहरूको विकास प्रक्रियामा सहायक बनेर शान्तिलाई बढावा दिने कार्य गर्दछ ।

बालकको प्राथमिक शिक्षा मातृभाषामा नै गराउनुपर्छ । मातृभाषाले नागरिकलाई शिक्षा आदि मूलभूत अधिकार प्रदान गर्दछ र यसले समाजका सबै वर्गको समावेशीकरण सुनिश्चित गर्दछ । यस प्रकार समाजका सांस्कृतिक मूल्यको विरासतको संरक्षण गर्ने कार्य पनि मातृभाषाले नै गर्दछ । अविकसित देशहरूमा भाषाप्रति अनेक प्रकारका भ्रम फैलिएका हुन्छन्, जसमा एक अत्यन्त महत्वपूर्ण भ्रम यो हुन्छ कि अमूक भाषा विकासको भाषा हो । अमूक भाषा विना काम चल्दैन । जस्तै वैदेशिक रोजगारमा जाँदा त्यस देशको भाषा महत्वपूर्ण मानिन्छ, त्यस्तै आफ्नै देशमा पनि अमूक भाषा नसिकी केही पनि हुन्न भन्ने भ्रम फैलाइन्छ । जबकि युनेस्कोसहित अनेक संस्थानहरूको अनुसन्धानले यो सिद्ध गरेका छन् कि मातृभाषा शिक्षाले नै सही मानेमा विकास हुन सक्छ । मातृभाषामा शिक्षा दिइनु पूर्ण रूपले वैज्ञानिक दृष्टिकोण हो । यो मतलाई शिक्षासँग सम्बन्धित सबै पक्षले स्वीकारेका छन् ।

मातृभाषा केवल ज्ञान प्राप्तिको विषय होइन, बल्कि मानवअधिकारको संरक्षण, सुशासन, शान्ति–निर्माण, सामञ्जस्य र सतत विकासको लागि एक आधारभूत आवश्यकता पनि हो ।

भारतीय वैज्ञानिक सीवी श्रीनाथ शास्त्रीका अनुसार अंग्रेजी माध्यमबाट इन्जिनियरिङको शिक्षा प्राप्त गर्नेको तुलनामा भारतीय भाषाको माध्यमबाट पढेका विद्यार्थी कतै बढी उत्तम वैज्ञानिक अनुसन्धान गर्न सक्दछन् । मातृभाषा मानिसको संस्कारहरूको संवाहक हो । मातृभाषा विना कुनै पनि देशको संस्कृतिको कल्पना पनि गर्न सकिन्न । मातृभाषाले मानिसलाई राष्ट्रियतासँग जोड्दछ र राष्ट्रप्रेमको भावना उत्प्रेरित गर्दछ । मातृभाषा मानिसको आत्माको आवाज हो । मातृभाषाले देशलाई मालाको थुँगा झैं जोड्ने कार्य गर्दछ ।

सन् १९५२ को २१ फेब्रुअरीका दिन बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) का ढाका विश्वविद्यालय, जगन्नाथ विश्वविद्यालय तथा चिकित्सा महाविद्यालयका विद्यार्थीले बांग्लालाई राष्ट्रिय भाषा घोषित गरियोस् भन्ने माग राखी आन्दोलन गरे । त्यसमा अनेक विद्यार्थी पुलिसको गोलीको सिकार भएर आफ्नो मातृभाषाका लागि प्राण न्यौछावर गरे । मातृभाषाको लागि दिइएको यसै बलिदानको स्मृतिमा युनेस्कोले वर्ष १९९९ मा यसै दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मनाउन प्रारम्भ गर्‍यो, जसलाई संयुक्त राष्ट्रसंघले २००८ मा स्वीकृति प्रदान गर्‍यो ।

भाषिक साम्राज्यवादले संसारमा धेरै नै भाषालाई निल्ने काम गरेको छ । अष्ट्रेलिया र अमेरिकाका मूल बासिन्दाको भाषा र संस्कृतिलाई भाषिक साम्राज्यवादको सिकार भएर पूर्ण रूपले समाप्त भइसकेको अवस्था छ । भाषिक साम्राज्यवादले त्यस स्थितिलाई जनाउँछ जहाँ एक कडा राष्ट्रको भाषाले कमजोर देशको शिक्षा र शासन जस्ता विविध क्षेत्रबाट मातृभाषा (हरू) लाई हटाउँछ । यसका लागि घोषणा गरिएको वा घोषणा नगरिएकोले यस्तो प्रणाली बनाएर जरा गाड्न अनुमति दिइन्छ जसमा बोल्ने र विदेशी भाषा बोल्ने मानिसलाई दोस्रो वर्गका नागरिकहरू जस्तो बन्न बाध्य पारिएको हुन्छ । भाषिक साम्राज्यवाद भनेको एक देशको भाषा अर्को देशमाथि लादिने अवस्था मात्र होइन, अपितु कुनै देशभित्रै पनि एउटा खास भाषाले अन्य भाषामाथि प्रभुत्व जमाएको हुन्छ अथवा थिचोमिचोमा पारेको हुन्छ भन्ने अवस्था पनि हो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस प्रादुर्भावको अन्तरकथाभित्र पनि यस्तै भाषिक साम्राज्यवाद र त्यसको प्रतिरोधको घटना रहेको पाइन्छ । बेलायती उपनिवेशसँगै भारतमाथि अंग्रेजी भाषाको साम्राज्यको स्थापना पनि भएको थियो । दोस्रो विश्वयुद्धपछि बेलायतले भारतमाथिको आफ्नो शासन हटाउँदै गर्दा भारतलाई भारत र पाकिस्तानको रूपमा दुई टुक्रा पार्ने काम पनि गर्‍यो । धार्मिक जनसंख्याको बहुलताको आधारमा टुक्रिएको पाकिस्तानको दुई हिस्सा अर्थात् पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तानबीचको दूरी हजारौं किलोमिटर रहेको थियो । पश्चिमी पाकिस्तान वर्तमान पाकिस्तान हो भने पूर्वी पाकिस्तान आजको बंगलादेश हो, जो सन् १९७१ डिसेम्बर १६ मा टुक्रिएको थियो । संस्थापन पाकिस्तानबाट बंगलादेश टुक्रिनुको कारण भाषिक स्वतन्त्रताको आन्दोलन नै हो । पाकिस्तानले उर्दू भाषालाई राजकाज भाषा मानेको थियो, जसको कुनै संस्कृति थिएन । तर बंगाली भाषाको आफ्नै संस्कृति थियो, जसले उर्दूलाई मालिक मान्न तयार थिएन र स्वतन्त्रताको पक्षमा थियो । यसै भाषिक स्वतन्त्रताको चाहनाले एक दिन उसले राष्ट्रिय स्वतन्त्रता समेत प्राप्त गर्‍यो ।

विश्वका धेरै विकसित र विकासशील देशहरू मातृभाषाको प्रयोगलाई सशक्त बनाएको कारणले प्रगतिको उचाइलाई छोइरहेका छन् । यस अर्थमा जापान हाम्रो अगाडि आदर्श उदाहरण हो । जापान विश्व बजारमा आर्थिक र औद्योगिक शक्तिको रूपमा रहेको छ र यो हैसियत उसले आफ्नो मातृभाषाको प्रयोगकै कारणले प्राप्त गरेको हो । अर्कोतर्फ हामी चीनको उदाहरण पनि लिन सक्छौं जुन विश्वमञ्चमा एक सुपर शक्तिको रूपमा देखा परेको छ । यदि हामीले उसको विकासको इतिहासलाई पनि हेर्‍यौं भने उसको मातृभाषाको उल्लेखनीय योगदान रहेको देखिन्छ । भारत पनि प्रगतिको चरम विन्दुमा पुग्न खोजिरहेको छ । आज विश्वव्यापी दौडमा भारत धेरै पछाडि छैन । त्यहाँको विकास पनि भाषिक चेतना र मातृभाषाको उत्थानको कारणले सम्भव भएको हो ।

मातृभाषा केवल ज्ञान प्राप्तिको विषय होइन, बल्कि मानवअधिकारको संरक्षण, सुशासन, शान्ति–निर्माण, सामञ्जस्य र सतत विकासको लागि एक आधारभूत आवश्यकता पनि हो । यसै प्रकार सामाजिक, आर्थिक एवं राजनीतिक विकास, शान्तिपूर्ण सह–अस्तित्व र सामाजिक, क्षेत्रीय, सामुदायिक सामञ्जस्यको लागि स्वदेशी भाषाहरू महत्वपूर्ण हुन्छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । यी राष्ट्रिय विविधतामा हाम्रो विश्वास छ तर यसको बावजुद हामी आफूलाई विशेष रूपले भाषा तथा बोलीहरूको सन्दर्भमा उसको सम्वद्र्धन गर्ने कार्यमा सक्षम देखिइरहेका छैनौं । यसै कारणले पनि संयुक्त राष्ट्रले सन् २०१९ लाई स्वदेशी भाषाहरूको वर्ष घोषित गर्‍यो । ताकि स्वदेशी भाषाहरू अर्थात् मातृभाषाहरूलाई संरक्षित तथा पुनर्जीवित गर्न र तिनीहरूको विकासमा बढावा दिन तत्काल कामकाजलाई प्रोत्साहित गर्न सकियोस् ।

हरेक जातिको मातृभाषा त्यसको संस्कृतिकै अभिन्न अंग हो । त्यसैले संस्कृति संकटमा रहुन्जेल मातृभाषा फस्टाउन सक्दैन । मातृभाषा कुनै खास भौतिक, सामाजिक र सांस्कृतिक परिस्थितिसँग अन्तरक्रिया गर्दै सिकिने कुरो हो । ती परिस्थिति नै हराएपछि भाषाको प्रयोग हराउनु स्वाभाविकै हुन्छ । नयाँ–नयाँ सामाजिक र सांस्कृतिक परिस्थिति व्यक्त गर्न हामीले आफ्नै मातृभाषाको पनि सामथ्र्य बढाउँदै लग्यौं भने मात्र हाम्रो मातृभाषा जीवन्त हुन्छ, नत्र मातृभाषा एक दिन गएर लोप हुने अवस्थामा पुग्छ । आफ्नो भाषा र संस्कृति देखाएरै हरेक जातिले आफूलाई संसारको अरू सबै जातिभन्दा फरक भनेर चिनाउन सक्छ । न्यायिक पटलहरूमा मुद्दासँगै आएका कतिपय शब्द, जो पक्षहरूको मातृभाषाबाट आएका हुन्छन्, जसलाई न्यायिक प्रणालीको भाषामा हुबहु अनुवाद गर्न सकिन्न, अथवा भनौं अनुवादले वास्तविक भाव प्रकट गर्न सक्दैन भने ती शब्दहरू कालान्तरमा न्यायिक शब्दकोशको हिस्सा बन्न पुग्दछन् ।

त्यसैगरी कुनै घटनाक्रमले पनि कुनै मातृभाषा विशेषको शब्दलाई अन्तर्राष्ट्रिय दर्जामा पुर्‍याउन सक्दछ । स्थानीय पहिरन, खानपान, संस्कृतिका शब्दहरू पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषिक प्रचलनको हिस्सा बन्न पुग्दछन् । उदाहरणका लागि मैथिली भाषाका लाठी, घी जस्ता शब्द अंग्रेजी शब्दकोशको हिस्सा बन्न पुगेकोलाई लिन सकिन्छ ।

राष्ट्रिय जनगणना २०६८ ले देशमा ४४.६३ प्रतिशत नेपाली र ५५.३७ प्रतिशत अन्य मातृभाषा प्रयोगमा रहेको तथ्यांक देखाएको छ । यसरी बहुमतमा अन्य मातृभाषाहरू रहेर पनि ती मातृभाषाका प्रतिनिधिहरू एउटै मञ्चमा नआउँदा आफ्नो भाषिक अधिकारको स्थापना गर्न सकेका छैनन् । आफ्नो भाषामा काम कुरा गर्दा अन्य भाषाको विरोध गरेको हुँदैन । त्यस्तो कुरा भएको भए संविधानले बहुभाषिक नीति अवलम्बन नै गर्ने थिएन । बरु एउटै भाषाको प्रयोग बाध्यकारी हुँदा त्यसले विभिन्न खाले दुष्परिणाम उत्पन्न गर्दछ । मानिसले स्थान, समय र प्रयोजनका आधारमा मातृभाषा, क्षेत्रीय भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्दछन् । मातृभाषाले जीवन र जातिको, क्षेत्रीय भाषाले संस्कृति र पहिचानको, राष्ट्रिय भाषाले राष्ट्रियता र स्वाभिमानको तथा अन्तर्राष्ट्रिय भाषाले विकास र लौकिकताको रक्षा गर्दछ । अन्तर्राष्ट्रिय र राष्ट्रिय भाषाको व्यापकतामाथि कुनै पनि प्रश्न छैन तर क्षेत्रीय भाषा र मातृभाषाको उन्मुक्ति कसरी सम्भव हुन्छ भन्ने प्रश्न अवश्य छ ।

भूमण्डलीकरणको वर्तमान दौडमा देशहरूको भौगोलिक दूरी हराउँदैछ । समय र गति आज महत्वपूर्ण हुँदै गइरहेका छन् । बजार भाषा व्यवसायको दुनियाँको एक मापदण्ड बनिरहेको छ । त्यसकारण यो महत्वपूर्ण छ कि हामीले हाम्रा कमजोरीहरू बुझ्न सकौं र आफ्नो लक्ष्य हासिल गर्न योजना बनाऔं । मातृभाषाका वक्ताले नै रहर नगरेसम्म, वक्ता नै पूर्ण निष्ठाले दिलोज्यान दिएर नलागुन्जेल सरकारले चाह्यो नै भने पनि वक्ताले रुचि नै देखाएन भने कसैको मातृभाषा, लोकपरम्परा र संस्कृति जोगिंदै जोगिंदैन । मातृभाषीको मुख र हातमा नै मातृभाषाको रक्षाको अभिभारा रहेको छ ।

सन् २०२३ का लागि अन्तर्राष्ट्रिय मातृभाषा दिवसको नारा ‘बहुभाषिक शिक्षा–शिक्षालाई रूपान्तरणको आवश्यकता’ राखिएको छ । नेपालको संविधानले प्राथमिक शिक्षा आफ्नो मातृभाषामा प्रदान गरिने व्यवस्था गरेको छ । तर संविधानको त्यो व्यवस्था लागू हुनसकेको छैन । यसका लागि प्रदेश सरकारहरूले एक बोर्डको गठन गर्नु उपयुक्त हुनेछ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?