
९ फागुन, काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चुनावी अभियानका क्रममा प्रतिबद्धता जनाएकामध्ये दुई दर्जन आयोजनाहरु कार्यान्वयनमा गइसकेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र विकासका लागि चुनावी अभियानका क्रममा सांसद चौधरीले ३१ वटा प्रतिबद्धता जनाएका थिए ।
नवलपरासी १ बाट निर्वाचित उनले बाँकी प्रतिबद्धता समेत कार्यान्वयनमा जुटेको जानकारी गराएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रलाई लुम्बिनी प्रदेशकै नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । यसका लागि गुरुयोजना बनाएर कार्यान्वयन गर्ने उनको प्रतिबद्धता रहेको छ । सांसद चौधरीले तत्कालका लागि १५ वटा गौरवका आयोजना छनोट समेत गरिसकेको उनको सचिवालयले जनाएको छ ।
नवलपरासीमा चक्रपथ, केराखेती प्रबर्द्धन, पशुपालन, सीप विकास केन्द्र, कृषि बजार केन्द्र, बुद्ध सर्किट, सीमावर्ती पर्यटन प्रबर्द्धन, एकीकृत विशेष सेवा अस्पताल निर्माण, खेलकुद विकास र सरसफाइ अभियानसहितका गौरवका आयोजना प्रस्ताव गरिएको छ । स्थानीय तह, राजनीतिक दल, तथा निजी क्षेत्रसहितको विज्ञहरुसँगको छलफलबाट आयोजना छनोट भएको बताइएको छ ।
प्रतिबद्धता अनुसार छनोट गरिएका आयोजनाहरु कार्यान्वयनका लागि व्यवस्थित कार्यक्रम र दृढ इच्छाशक्ति चाहिने उनको भनाइ छ । सांसद चौधरीले आफ्नो प्राथमिकता नवलपरासी १ को विकास भएको बताएका छन् ।
प्रतिक्रिया 4