
९ फागुन, काठमाडौं । त्रिविको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विद्यार्थी संगठनबीच तालमेलको गृहकार्य सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालयले ५ चैतमा गर्ने चुनावका लागि तालमेल गर्न कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले कार्यदल समेत बनाएका छन् ।
तीन सदस्यीय कार्यदलमा नेविसंघबाट दिनेश शाही, अलिख क्रान्तिकारीबाट उपाध्यक्ष क्षितिज सापकोटा र अनेरास्ववियूबाट उपाध्यक्ष हिरेन्द्र शाही रहेका छन् ।
नेविसंघबाट कार्यदल सदस्य दिनेश शाहीले कार्यदलस्तरमा तालमेलका लागि दुई–तीन पटक कुरा भएको बताए । कार्यदल स्तरको छलफलपछि तीनवटा संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति निकाल्ने तयारी समेत गरेका छन् ।
नेविसंघका सभापति दुजाङ शेर्पाले केन्द्रबाट तालमेलको निर्णय भए पनि यसबारे स्थानीय क्याम्पसलाई नै अन्तिम निर्णय लिने अधिकार दिइने बताए ।
त्यस्तै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि तालमेलका लागि वार्ता भइरहेको बताए । पराजुलीले पनि आफूहरुको सोमबार सकिएको स्थायी समितिको बैठकले तालमेलबारे अन्तिम निर्णय लिने अधिकार सम्बन्धित क्याम्पस र जिल्लालाई दिने निर्णय गरेको बताए ।
अखिल क्रान्तिकारीका नेता दिपेश पुनले विद्यार्थी संगठनसँग छलफल गर्न कार्यदल बनाइएको बताए ।
प्रतिक्रिया 4