+

अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत

२०७९ फागुन  १० गते १७:०४ २०७९ फागुन १० गते १७:०४
अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत

‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’

धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् ।

बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी सबै उनीहरुले छिनभरमै सिकाउन सक्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी लगभग हरेक बालबालिकामा देखिन्छ ।

एकल परिवारमा आमाबाबु दुवै काममा व्यस्त हुने भएकाले बच्चालाई पर्याप्त समय दिन भ्याइरहेका हुँदैनन् । त्यसैले बच्चालाई भुलाउन उनीहरुको हातमा मोबाइल थमाइदिन्छन् । यसले उनीहरुलाई मोबाइलको लत बसाइदिन्छ । जसबाट छुटाउन निकै सकस पर्छ ।

१. अभिभावकले समय नदिनु

बालबच्चालाई मोबाइल वा टीभीको लत बस्नुमा अभिभावक नै जिम्मेवार हुन्छन् । आफ्ना आमाबुबालाई फोनमा व्यस्त भएको देख्दा उनीहरुले पनि त्यही सिक्ने हुन् । आमाबुबाले समय नदिंदा उनीहरुले विकल्प खोज्छन् र त्यसको पहिलो प्राथमिकतामा मोबाइल पर्छ । समय बिताउन मोबाइल चलाउँदा चलाउँदै उनीहरुको लत यसैमा बस्छ ।

यदि अभिभावकले समय दिएर उनीहरुसँग खेल्ने, उनीहरुको कुरा सुनिदिने हो भने मोबाइल प्रयोगबाट टाढा रहन सक्छन् ।

२. चकचक नगरोस् भनेर मोबाइल दिनु

अभिभावक दिनभरको कामबाट थकित भएर घर फर्किएको बेला बच्चा शान्त रहोस् भन्ने चाहन्छन् । तर बच्चाहरु ऊर्जावान् हुने भएकाले उनीहरु खेल्न, उफ्रिन चाहन्छन् । उनीहरुलाई शान्त बनाउन अभिभावकले मोबाइल हातमा थमाइदिन्छन्, जसले बिस्तारै यसमा बालबच्चा अभ्यस्त हुन थाल्छन् ।

३. खेल्ने साधनको रुपमा मोबाइल दिनु

अहिले सहरी क्षेत्रमा बच्चाका लागि खेल्ने ठाउँ पर्याप्त छैन । बाहिर रेस्टुरेन्टतिर खाना खान जाँदा पनि ती बालबालिकामैत्री छैनन् । त्यहाँ उनीहरु उफ्रिन, दौडिन चाहन्छन् । तर ठाउँ नहुँदा अभिभावकले मोबाइल नै थमाइदिन्छन् ।

अहिले बालबालिकालाई खेल्नको लागि पर्याप्त खेल मैदान छैनन् । बच्चाका साथीभाइ पनि खासै हुँदैनन् । बाहिर खेल्न पठाउँदा बच्चा फोहोरी हुन्छन् भन्ने पनि लाग्छ अभिभावकलाई । त्यसैले बच्चा बाहिर खेल्न नजाऊन् भनेर वा खेल्ने मैदानको अभावले बच्चालाई खेलौनाको रुपमा मोबाइल दिइन्छ । यसले पनि बालबालिकामा मोबाइलको लत बसेको छ ।

४. खाना खुवाउने बेलामा मोबाइल दिनु

अहिले बालबालिकालाई खाना खुवाउनै गाह्रो छ । यो नखाने, त्यो नखाने भनेर झगडा गर्छन् । बच्चालाई खाना खुवाउन अन्य उपाय अपनाउन अभिभावक अल्छी मान्छन् । पहिले कथा सुनाएर सँगसँगै दौडिएर बच्चालाई खाना खुवाइन्थ्यो । अहिले बच्चाले खान मानेन भने मोबाइल दिएर त्यसमा ध्यान केन्द्रित गरेर खुवाउने प्रवृत्ति बढेको छ । यो पनि बच्चालाई मोबाइलको लत लगाउने अर्को कारण बनेको छ । मोबाइल हेरेर खाना खाँदा बच्चाले स्वाद नै थाहा नपाउने अवस्था सिर्जना हुन्छ ।

५. प्रलोभन देखाएर मोबाइल दिनु

‘होमवर्क गर अनि मोबाइल दिन्छु, यो काम गर अनि मोबाइल दिन्छु ।’ अभिभावकले विभिन्न प्रलोभन देखाएर पनि बच्चालाई मोबाइल दिन्छन् । तर यस्ता बच्चा पछि जिद्दी बन्छन् अनि बाध्यतामा उनीहरुको हरेक कुरा मान्नुपर्छ ।

बच्चालाई प्रलोभन देखाएर मोबाइल दिंदा उनीहरु त्यसको लतमा पर्छन् । लामो समय मोबाइलमा बिताउँदा उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखापर्छ ।

मोबाइलको लतले बच्चामा पर्ने असर

बालबालिकाले लामो समय  मोबाइलमा बिताउँदा निद्रा पुग्दैन । मोबाइलमा व्यस्त भएर उनीहरु ढिलो सुत्छन् र निदाउन गाह्रो हुन्छ । स्क्रिनमा लामो समय बिताउँदा उनीहरु एकाग्र नहुने ‘एन्जाइटी’को समस्या देखिन्छ ।

अहिले बच्चामा मोटोपनको समस्या पनि धेरै देखिन्छ । त्यसको एउटा कारण मोबाइल पनि हो । लामो समय एकै ठाउँमा बसेर मोबाइल चलाउने शारीरिक गतिविधि कम हुँदा बच्चामा मोटोपनको समस्या देखिन्छ ।

लामो समय मोबाइल चलाउने बच्चामा ‘भर्चुअल अटिजम’को समस्या पनि देखिन सक्छ । अरुसँग कुरा गर्ने, एकोहोरो हुने र सुस्तजस्तो देखिने हुन्छ ।

मोबाइलको लतबाट कसरी छुटाउने ?

-बच्चासँग धेरै समय बिताउनुपर्छ भन्ने छैन । आधा घण्टादेखि एक घण्टा गुणस्तरीय समय बिताउन सकियो भने बच्चाको मोबाइल लत हटाउन सकिन्छ । उनीहरुसँग खेल्ने, कुरा गर्ने गरेर समय बिताउन सकिन्छ ।

-खाना खाने समयमा र होमवर्क गर्ने बेलामा मोबाइल नचलाउने भन्ने नियम बनाउनुपर्छ । त्यो समयमा अभिभावक आफैंले पनि मोबाइल चलाउनु हुँदैन ।

-अभिभावक आफैं रोल मोडल हुनुपर्छ । आफू चाहिं मोबाइल हेर्ने बच्चालाई नहेर भनेर हुँदैन । तपाईंले धेरै समय मोबाइलमा बिताउनु भएन भने उनीहरु पनि त्यसलाई घटाउँछन् ।

-बच्चासँग अभिभावक पनि खेल्नुपर्छ । उनीहरुलाई शारीरिक खेलमा बढी संलग्न गराउँदा पनि उनीहरुको मोबाइल चलाउने समय घट्छ ।

(डा. ज्ञवाली क्लिनिकल मनोचिकित्सक हुन् ।)             

बालबच्चा मोबाइल
लेखक
डा. विजय ज्ञवाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?