
काठमाडौं । मण्डला नाटकघरमा ‘मुनमुन’ मञ्चन भइरहेको छ । लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’मा आधारित यो नाटक सम्राट भुजेलले नाट्य रुपान्तरणसहित निर्देशन गरेका छन् । फागुन २० गतेसम्म मञ्चन हुने नाटकले उक्त पुस्तकका केही पात्रमा केन्द्रित रहेर कथा भन्छ ।
नाटकमा मनिष ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापालगायत कलाकारको अभिनय छ । माया गरिरहनु र कोही फर्कने आशा पर्खिरहनु हरकोहीको वशको कुरा होइन भन्ने अन्तर्य नाटकले प्रस्तुत गर्छ ।
यदि तपाईंले ‘फिरफिरे’ उपन्यास पढ्नुभएको छ भने तपाईंका लागि नाटक सरस र सुरुचिपूर्ण हुन सक्छ । उपन्यासका प्रमुख पात्रहरु वसन्त र पवन वरपर कथा घुम्छ । उनीहरुको दोस्तीबीच आउने मिठास र द्वन्द्वलाई नाटकमा पेस गरिएको छ । पवन र वसन्तबीच बाल्यकालमा भएको कुराअनुसार उनीहरुको युवावस्था कस्तो हुन्थ्यो भन्ने परिकल्पनासहित नाटक बुनिएको छ । समग्रमा यी दुई पात्रको युवावस्थाको प्रेम दर्शाउने प्रयत्न नाटकमा गरिएको छ ।
जुठी आमालाई एक्लै छाडेर असारे बा मुग्लान हान्निएको सन्दर्भबाट नाटक सुरु हुन्छ । श्रीशेष श्रेष्ठको सहनिर्देशन रहेको नाटकमा चरित्रको भावना र मञ्चमा प्रयोग गरिएको ध्वनि र प्रकाशको बेजोड तालमेल रहेको देख्न सकिन्छ । सोमबारबाहेक हरेक दिन यो नाटक बेलुका सवा ५ बजेदेखि मञ्चन भइरहेको छ ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4