१० फागुन, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटी २-अन्डर ६७ सहित शीर्षस्थानमा रहेका छन् ।
पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे ।
सञ्जय र प्रज्वल १-ओभर ७० स्कोर गर्दै संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दलबहादुर लामा, रामे मगर र राष्ट्रिय टिमका सदस्य एमेच्योर खेलाडी सद्भाव आचार्यले २-ओभर ७१ सहित चौथो स्थान बाँडे ।
१३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता एमेच्योर खेलाडी सुवाश तामाङ र प्रो धनबहादुर थापाले ३-ओभर ७२ को स्कोर कार्ड बनाए । दुवै खेलाडी संयुक्तरुपमा सातौं स्थानमा छन् ।
यसैगरी ४-ओभर ७३ स्कोरकासाथ नेपाल नम्बर एक शुक्रबहादुर राई, दिनेश प्रजापति, कमल तामाङ तथा एमेच्योर गल्फरहरू महेन्द्र फगामी र सुरेश तामाङ संयुक्तरुपमा नवौं स्थानमा छन् ।
नेपालकै कठिन मानिने हिमालयन गल्फ कोर्समा सहभागी ४५ खेलाडी मध्ये भुवनले मात्र अन्डर पारमा खेल सकाए । पहिलो होलमा बोगीको सामना गरेपनि चौंथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए ।
यसपछि १०औं, १३औं र १७औं होलमा एक-एक सट बचाए भने १३औं र १६औं होलमा बोगी खेपे। उनले ब्याक नाइन १-अन्डर ३४ मा पूरा गरे । यसरी उनले दिनकै उत्कृष्ट २-अन्डरको स्कोर कार्ड बनाए ।
सञ्जय लामाले दोस्रो होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए । यसपछि १५औं होलमा बर्डी प्रहार गरे पनि १६ औं होलमा एक सट खेर फल्दै ब्याक नाइन इभन-पार ३५ मा पूरा गरे ।
प्रज्वल गुरूङले राम्रो सुरुवात गर्दै चौथो, पाँचौ र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे । आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन २-अन्डर ३२ को नतिजामा सकाए। ब्याक नाइनमा लय गुमाउँदा १२ औं, १५औं, १६औं र १८औं होलमा चारवटा बोगी खेपे । १४औं होलको बर्डीले ब्याक नाइन ३-ओभर ३८ मा सकाए ।
पहिलो दिनको खेलमा ९० वा सो भन्दा माथि स्कोर गरेका तीन एमेच्योर खेलाडी विदुर तामाङ, प्रकाश गुरुङ र जितेन्द्र राई प्रतियोगिताबाट बाहिरिएका छन् ।
५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। ३६ होलको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलको लागि कट बनाउनेछन् ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यावसायिक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ ।
प्रतिक्रिया 4